महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको बायोपिक ‘अन्जिला’ ट्रेलर सार्वजनिक

महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको बायोपिक ‘अन्जिला’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
42
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी फागुन २९ गते रिलिज हुने सिनेमा ‘अञ्जिला’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता र घरभित्रबाट बाहिर निस्कन गरेको संघर्षदेखि कप्तान बन्दासम्मको कथा रहेको छ ।

शुक्रबार आयोजित ट्रेलर सार्वजनिक समारोहमा एन्जिलासँगै दयाहाङ राई, सुमिन गुरुङ, प्रेम कुमार श्रेष्ठ, निर्देशक मिलन चाम्स लगायतको उपस्थिति थियो । एन्जिला नै सिनेमाकी प्रमुख कलाकार हुन् । सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा निर्देशक चाम्सले सिनेमामा अधिकांश राष्ट्रिय खेलाडीले अभिनय गरेकाले छायांकनका क्रममा निकै गाह्रो भएको बताए ।

निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले सिनेमामा कथा फुटबलभन्दा पनि अञ्जिलाको कथा मुख्य रहेको बताए । अभिनेता दयाहाङ राईले आफू हरेक नेपाली खेलको प्रशंसक र दर्शक रहेको बताउँदै महिला फुटबल टोलीको म ठुलो फ्यान रहेको जनाए । ‘कप्तानको सिनेमा बन्दैछ भनेपछि भूमिका के हो समेत थाहा नपाई काम गर्न सहमत भएँ । यसको लागि म जिन्दगीभर ऋणी हुनेछु,‘ अभिनेता राईले भने ।

सिनेमाको कार्यक्रममा एन्जिलाले आफूले बिर्सन नहुने धेरै नामहरू रहेको र त्यसमा निर्देशक मिलन चाम्स थपिएको बताइन् । ‘म मिलन दाईलाई पनि जिन्दगीभर भुल्दिनँ । पहिले म डराउँथे तर आजकल आफ्नै दाइ हो जस्तो लाग्छ । मेरो कथा उहाँहरूकै जिम्मामा छोडेर जाँदैछु । हृदयदेखि नै आभारी छु । मैले सोचेको पनि थिइनँ कि मैले दयाहाङ राईसँग सिनेमा खेल्छु भनेर । उहाँ जस्तोसुकै अवस्थामा पनि खेलमा समर्पित हुनुहुन्थ्यो,’ एन्जिलाले भनिन् ।

उनले आफू काठमाडौं आएदेखि गड फादर बनेर बाटो देखाउने प्रेम कुमार श्रेष्ठलाई धन्यवाद दिँदै भनिन्, ‘म आज जुन बाटोमा छु उहाँले गर्दा नै छु । मेरो मात्र नभएर अन्य खेलाडीको सिनेमा पनि बन्नुपर्छ भन्ने बाटो खुलेको छ ।’ सिनेमामा भारी बोक्दाका दृश्यको अनुभव सुनाउँदै आफू १३ वर्ष हुँदा नै ६० किलोको चामलको भारी बोक्ने गरेको बताउँदै छायांकनमा खासै अप्ठ्यारो नलागेको बताइन् ।

सिनेमामा सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ र बुद्धि तामाङले पनि अभिनय गरेका छन् । सिनेमाको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको हो । सिनेमाको छायांकन सुदीप बराल र सम्पादन मिलन श्रेष्ठले गरेका हुन् ।

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् । टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया सह-निर्माता रहेको सिनेमाको निर्माण नियन्त्रकमा विनोद सुवेदी खत्री छन् ।