द सिनेमा टाइम्स, काठमाडौं । सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको सिनेमा ‘आउटलः दफा २१९’को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । फागुनको २९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको ट्रेलरले दर्शकमाझ उत्सुकता बढाउने देखिन्छ ।
विक्की महर्जनको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा अमित अग्रहरि र नीशा गुइडेको लगानी छ । सिनेमामा विक्की महर्जन र विनोद कठायतको पटकथा, नविन गुरुङको डीओपी छ । विकास चौधरी सह–निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता विनोद कठायत हुन् । साहिल खानको सम्पादन रहेको सिनेमामा चुल्ठे काजीको एक्शन निर्देशन छ ।
सिनेमामा सुशिल श्रेष्ठ, शिक्षा संग्रौला, नरेश पौडेल, सुमन भण्डारी, हेम महर्जन, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, मारिया कार्की र अयान परियारको अभिनय छ । सिनेमाको ट्रेलर हेर्दा मेकिङ, कथावस्तु र एक्सन गज्जब देखिएको छ । अभिनेता सुशिल श्रेष्ठलाई एक्सन स्टारको रुपमा प्रस्तुत गरिएको सिनेमामा उनको काम पनि तारिफयोग्य देखिएको छ ।
सिनेमामा समावेश केही संवादहरु दर्शकको नजरमा पर्न सक्छन् । ‘यहाँ व्वासोहरु झुण्डमा हिँडेर आफूलाई वाघ ठान्छन् । तर, व्वासोलाई के थाहा बाघ एक्लै आउँछ र एक्लै शिकार गर्छ ।’ यो बाहेक अन्य केही संवाद पनि दर्शकको नजरमा पर्न सक्छन् । जस्तै ‘हिजोसम्म स्यालको सरकार देखेको थिइस्, आज बाघको सरकार देखिस्’ भन्ने संवाद पनि हिट हुने देखिन्छ ।
नेपालमा यो वर्ष एक्सन कथाका सिनेमालाई रुचाइएको छ । यसैले, फरक शैलीको एक्सन र न्यायको कथामा बनेको यो सिनेमाले पनि दर्शकको साथ पाउने विश्वास गर्न सकिन्छ । निर्माण टिम पनि सिनेमाप्रति आशावादी देखिन्छ ।


प्रतिक्रिया