द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘हरिबहादुरको जुत्ता’को छायांकन सकिएको छ । सिनेमामा समावेश तीन गीतबाहेक कथावस्तुको छायांकन २९ दिनमा सकिएको निर्माता सरोज ओलीले बताए ।
सिनेमाका मुख्य अभिनेता हरिवंश आचार्यले पनि सहज ढंगले इन्डक्ल्याप भएको बताए । सिनेमाबारे उनले भने, ‘हाम्रो टिम एकदम राम्रो बन्यो । सम्पूर्ण कलाकार र प्रविधिकको सहज वातावरणले चाँडै छायांकन सम्पन्न हुन सक्यो ।’ हरिवंशको जन्मथलो काभ्रेको शंखुस्थित पनौती आसपासमा छायांकन सकिएको हो ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमामा सरोज ओली र मोहितवंश आचार्य निर्माताको रुपमा छन् । सामाजिक र हास्यकथावस्तुमा निर्माण भएको सिनेमा महजोडीको चर्चित हरिबहादुरको पात्रबाट प्रभावित छ । हरिबहादुर दर्शकमाझ निकै रुचाइएको पात्रअन्तर्गत पर्छ ।
सिनेमामा हरिवंशसँगै प्रकाश सपुत, स्वस्तिमा खड्का, राजाराम पौडेल, किरण केसी, हरिहर शर्मा, पार्वती अधिकारी, दिब्यदेब पन्त, तारा शर्मा, दिनेश काफ्ले, सीता न्यौपानेको पनि अभिनय छ । सिनेमाको प्रदर्शन मिति आगामी वर्षको दशैंको फूलपातिलाई घोषणा गरिएको छ ।


प्रतिक्रिया