द सिनेमा टाइम्स, काठमाडौं । अष्ट्रेलियामा नेपाली सिनेमा अवार्ड आयोजना हुने भएको छ । डि व्वाईज इन्टरटेनमेन्टले आगामी मे २८ तारिकदेखि जुन १ तारिकसम्म अष्ट्रेलियामा ग्लोबल नेपाली सिनेमा अवार्ड आयोजना गर्न लागिएको हो । नेपाली सिनेमा र पर्यटन प्रवर्द्धनको उद्देश्य सहित अवार्ड आयोजना गर्न लागिएको आयोजक मध्येका एक गणेश मल्लले बताए ।
पछिल्लो समय नेपाली सिनेमाको बजार अष्ट्रेलियामा राम्रो हुदैँ गएको छ । अष्ट्रेलियामा नियमित रुपमा अधिकांश नेपाली सिनेमाहरु प्रदर्शन हुदैँ आएका छन् । राम्रो हाइप निर्माण गरेका सिनेमाले करोड भन्दा बढिको ब्यापार अष्ट्रेलियामा मात्रै गर्ने गरेका छन् । यसले नेपाली सिनेमाको बजार प्रवर्द्धन गरेको छ । सिनेमा मार्फत नेपालको पर्यटन प्रवर्द्धन हुदैँ आएको छ ।
नेपाली सिनेमाको विभिन्न विधालाई समेटेर अवार्डको आयोजन गर्न लागिएको हो । तीन दर्जन बढि कलाकार तथा सिनेमाकर्मीको सहभागीमा अवार्ड आयोजना गरिने आयोजक मल्लले बताए । सिनेमाका नोमिनेट कलाकार, चिनिएका प्राविधिक, सिनेमा पत्रकार, आयोजक र सिनेमाकर्मी बाहेकलाई कार्यक्रममा सहभागी नगाराइने आयोजकले जनाएको छ । डि व्वाईजले अष्ट्रेलियामा विभिन्न कार्यक्रमको आयोजन गर्दै आएको छ ।
अवार्ड घोषणा, नोमीनेशन, अवार्ड समारोह र धन्यवाद ज्ञापनसहित चार चरणमा हुने अवार्ड समारोहमा विभिन्न १८ वटा विधा समावेश गरिएको छ । एकजना पत्रकारलाई चलचित्र पत्रकारिता पुरस्कार र एकजना विशिष्ट सिनेमाकर्मीलाई लाईफटाईम एचिभमेन्ट अवार्ड नगदराशीसहित प्रदान गरिनेछ ।
अवार्डमा समावेश हुने विधाहरु, सहभागी कलाकार तथा अवार्डको जुरी र अन्य जानकारी छिट्टै पत्रकार सम्मेलन गरि दिने आयोजकले जनाएको छ । २०८० सालमा प्रदर्शन भएका सिनेमाहरुको दर्ता शुरु भएको भन्दै आयोजक संस्थाका मल्लले अवार्ड समारोहमा अष्ट्रेलियन सिनेमाकर्मी, वितरक र नगारिकहरुको पनि उपस्थित हुने बताए ।


प्रतिक्रिया