द सिनेमा टाइम्स, काठमाडौं । हिमाल न्यौपानेको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘जनै हराएको बाहुन’मा कलाकारको लाइनअप रोचक बनिरहेको छ । अभिनेता विजय बरालको मुख्य भूमिका रहने सिनेमामा दुई अभिनेत्री केकी अधिकारी र मिरुना मगरको प्रवेश भएको छ । गत सोमबार सिनेमाका निर्माताले दुवै अभिनेत्रीसँग लिखित सम्झौता गरेका हुन् ।
सिनेमामा विजयसँग जोडीका रूपमा यी दुई अभिनेत्रीमध्ये को हुने भन्नेबारे निर्माणपक्षले खुलासा गरिसकेको छैन । सिनेमाको केही समय अघि थिम मोसन पोस्टरमार्फत सार्वजनिक भइसकेको छ । सिनेमाले आमा र छोराबीचको इमोस्नल कथा भन्नेछ । यसले आमाको सुखका लागि छोराले गर्ने संघर्षको कथा भन्ने संकेत गरेको थियो ।
यो सिनेमाको एसोसिएट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् । ‘जनै हराएको बाहुन’मा मनिष राउत, गौरव पहाडी र रियर राईको पनि अभिनय रहनेछ । बैशाखअघि नै छायांकनको तयारी गरिएको सिनेमालाई आगामी हरितालिका तीज अर्थात् भदौ १० गते रिलिज गर्ने लक्ष्य राखिएको छ ।
भानुभक्त ढकालको कथा, पटकथा तथा संवाद रहेको सिनेमाले गाउँबाट आफ्नो सपना पूरा गर्न सहर पुगेको एक पात्रले भोग्नुपरेको अनपेक्षित परिस्थिति र त्यसले उसको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ । सिनेमाको निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन् ।
केही हप्ताअघि सिनेमाको थिम भिडियो सार्वजनिक गर्दै कथावस्तुबारे प्रकाश पारिएको थियो । जसमा गाउँका दुई साथीमध्ये एकले गाउँ छाडेर सहर हिँड्ने बेलामा साथीसँग गरेको बिदाइको संवाद छ । पेपरक्लिप प्रालिको ब्यानरमा बन्न लागेको सिनेमालाई नवीन गुरुङले छायांकन गर्नेछन् । यसमा क्रियटिभ निर्देशक सम्राट महर्जन (ज्याक) छन् ।


प्रतिक्रिया