द सिनेमा टाइम्स, काठमाडौं । फागुन २३ गते शुक्रवार रिलिज हुने सिनेमा ‘होस्टेल ३’को अग्रिम टिकट बुकिङ खुला भएको छ । नेपालकै सबैभन्दा ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्स सिनेमाजमा करिब ८० शो, दोस्रो ठुलो चेन आइएनआइ सिनेमाजमा १५ शो तथा वन सिनेमाजमा ९ शो, बिग मुभिजमा ५ शो र एफक्युब सिनेमामा ५ शो, बिएसआर सिनेमाजमा ४ शो सिनेमालाई दिएका छन् ।
बुधवार साँझसम्म देशभर करिब १२० शो अग्रिम बुकिङ सुरु भएको छ भने बिहीबार दिउसोसम्म करिब २५० शो प्राप्त गर्ने अपेक्षा निर्माताले गरेका छन् । हलहरूले उपलब्ध गराएको शो हेर्दा सिनेमाको ओपनिङ राम्रो हुने प्रक्षेपण गरिएको छ ।
‘होस्टेल’ शृंखलाका अघिल्ला दुई संस्करण बक्स अफिसमा सफल भएका थिए । यस कारणले नै तेस्रो भागलाई पनि दर्शकको राम्रो साथ मिल्ने अपेक्षा गरिएको छ । यो सिनेमा युवा पुस्तालाई लक्षित छ, जो नेपाली सिनेमाका मुख्य दर्शक वर्ग हुन्, उनीहरूबिच लोकप्रिय हुने सम्भावना छ । ‘होस्टेल ३’को ट्रेलर र राम्रो हाइप बनाएकाले हल सञ्चालकहरूले बक्स अफिसमा राम्रो व्यापार गर्ने अनुमान गरेका छन् ।
सशान कँडेलले निर्देशक गरेको सिनेमाको मुख्य भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् । अभिनेता प्रवीण खतिवडा वार्डेनको भूमिकामा छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि सिनेमामा रहेका छन् ।
माधव शर्माले लेखन तथा एसोसियट निर्देशनको जिम्मेवारी सम्हालेका छन् । सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी निर्माता तथा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर सहनिर्माता र शंकर कोइराला कार्यकारी निर्माता रहेको सिनेमाका लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री हुन् ।
सिनेमामा अर्जुन तिवारीको डिओपी, विकास दाहालको सम्पाद, हिमाल केसीको एक्शन निर्देशन, अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको संगीत, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ । सिनेमाको वितरण काठमाडौं उपत्यकामा काफिया फिल्मस् र उपत्यका बाहिर आरआर फिल्मस्ले गर्नेछन् ।


प्रतिक्रिया