धरानमा ‘अञ्जिला’को भव्य रेड कार्पेट प्रिमियर सम्पन्न

धरानमा ‘अञ्जिला’को भव्य रेड कार्पेट प्रिमियर सम्पन्न

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । फागुन २९ गते होलीको अवसरमा देशभर प्रदर्शनमा आउने सिनेमा ‘अञ्जिला’को धरानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । शुक्रवार धरानमा आयोजित प्रिमियरमा सिनेमाको निर्माण टिम, सिनेमाकर्मी, खेलाडी, पत्रकार र स्थानीय दर्शकको उत्साहजनक उपस्थिति रहेको थियो ।

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो सिनेमाको हङकङ, कोरिया र बेलायतमा सफलतापूर्वक प्रिमियर भइसकेपछि नेपालमा पहिलो पटक धरानमा गरिएको यो प्रिमियरले सिनेमाप्रति दर्शकहरूको उत्सुकतालाई थप बढाएको छ । भव्य सजावट र रेड कार्पेटले सजिएको हलमा दर्शकहरूले सिनेमाको प्रतीक्षा गरिरहेका थिए ।

प्रिमियरमा निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल, राजेश बगडिया र निर्देशक मिलन चाम्सको उपस्थिति थियो । यद्यपि, सिनेमाकी मुख्य अभिनेत्री एन्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकारहरू भने कार्यव्यस्तताका कारण उपस्थित रहेनन् । तर, कलाकार प्रकाश सुब्बा र बाल कलाकार नमिक्षा मगरको उपस्थिति भने उल्लेखनीय थियो ।

सिनेमामा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको प्रमुख अभिनय छ । सिनेमा हेरेपछि दर्शकहरू भावुक बनेका थिए । सिनेमा हेरिरहेका दर्शकहरू हलभित्र रोइरहेका देखिन्थे । विशेष गरी एन्जिलाको संघर्षको कथाले सबैको मन छोएको प्रतिक्रिया प्राप्त भएको छ । दर्शकले सिनेमाको प्रशंसा गर्दै निर्देशक मिलन चाम्सको उत्कृष्ट निर्देशनको तारिफ गरेका थिए ।

धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले सिनेमाले नेपाली खेलाडीको वास्तविक संघर्षलाई चित्रण गरेको बताए । युवा दर्शकले सिनेमा हेर्दा आफ्नो परिवार र आफूलाई नै देखेको प्रतिक्रिया दिए । बाल कलाकार नमिक्षा मगरले एन्जिलाको संघर्ष देखेर आफू रोएको बताइन् ।

दर्शकको सकारात्मक प्रतिक्रियाले निर्माण टिमलाई उत्साहित देखियो । निर्माता श्रेष्ठले दर्शकको माया र समर्थनले आफू भावुक भएको बताए । निर्देशक चाम्सले दर्शक रुँदा आफू पनि भावुक भएको अनुभव सुनाए । चाम्सको यो तेस्रो बायोपिक सिनेमा हो । उनले यसअघि बायोपिक ‘ब्लाइन्ड रक्स’ र ‘बोबी’ निर्देशन गरेका थिए ।

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित सिनेमाका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् । विनोद अग्रवाल कार्यकारी निर्माता रहेको सिनेमाका सह–निर्माता टुबेन्द्र लिम्बु र राजेश बगडिया हुन् । सिनेमाको छायांकन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ । सिनेमाको छायांकन सुदीप बराल र मिलन श्रेष्ठले सम्पादन गरेका छन् ।