द सिनेमा टाइम्स, काठमाडौं । बेलायतमा बसोबास गर्ने अभिनेता टंक धमालाले अभिनय गरेको ब्रिटिस सिनेमा ‘कामा’ बेलायत र आयरल्याण्डका हलहरुमा मार्च ७ देखि प्रदर्शन भइरहेको छ । ब्रिटिस विज्ञापन तथा सिनेमा ‘डेन्जरस गेम’मा समेत अभिनय गरिसकेका अभिनेता धमालाको यसमा मुख्य भूमिकामा छन् ।
विश्वासघात र बदलाका लागि मान्छे कुन हदसम्म पुग्न सक्छ भन्ने देखाइएको सिनेमा ‘कामा’मा हलिउड कलाकार म्याट वेकफोर्डनट, जेमिमा टोम्स, मिया बेनेट, साउथ इन्डियन अभिनेत्री पूजा गुप्ताले अभिनय गरेका छन् ।
टंकले फिल्ममा आर्मीको भूमिका निर्वाह गरेका छन् । जो युद्धबाट फर्किएर घर आइपुग्दा आफ्नी श्रीमतीको मृत्युको खबर थाहा पाउछन् । त्यसपछि आउने घटनाक्रमले थ्रिलर सिनेमाका दर्शकलाई भरपुर मनोरञ्जन दिने अभिनेता धमालाले बताए ।
‘यो सिनेमामा मैले आर्मीको भूमिकाका लागि शारीरिक रुपमा फिट गर्ने देखि प्राविधिक पक्षलाई पनि ध्यान दिएर तयारी गरें । आर्मीले सोच्ने तरिका, शारीरिक हाउभाउ, उसको मानसिकतालाई ग्रहण गर्नका लागि मैले प्रशिक्षण लिएर आफ्नो पात्रलाई तयार गरेको थिएँ’, उनले भने ।
टंकले ब्रिटिस एक्टिङ कोच साइमन गिब्बनसँग अभिनय प्रशिक्षण समेत लिएको बताए । अभिनेता धमालाले बलिउडको ब्लकबष्टर सिनेमा ‘एनिमल’, नेपाली सिनेमा ‘सरौतो’मा समेत अभिनय गरिसकेका छन् । इटलीमा सम्पन्न ‘मिलान इन्टरनेशनल सिनेमा फेस्टिभल’मा भएको ‘कामा’को प्रदर्शनीमा उनले सर्वाेत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।
‘सिनेमा सम्बन्धी अध्यनका कारण कलाकारितामा निरन्तरता दिईरहेको छु । नेपाली सिनेमासँगै भारतीय र ब्रिटिस सिनेमामा काम गर्ने क्रममा मैले उनीहरुको कार्यशैलीलाई नजिकबाट बुझ्ने मौका पाएँ । यो अनुभवले मलाई आगामी दिनमा अभिनय यात्रामा मदत गर्नेछ भन्ने लागेको छ’, अभिनेता धमलाले भने ।
‘सरौतो’पछि केही नेपाली सिनेमामा समेत अभिनय गर्ने प्रस्ताव उनलाई गएको थियो । यद्यपि ‘कामा’ को तयारी र आफ्नै दैनिकीले गर्दा उनले समय दिन सकेनन् । अब उनी नेपाली सिनेमाको लागि पनि तयार भएको बताउछन् ।
‘ब्रिटिस सिनेमामा अनुबन्धित भएकै कारण मैले केही राम्रा अफर पनि स्वीकार गर्न सकिन, किनकि म सम्झौताले बाधिएको थिए । तर, अब नेपाली सिनेमामा सुहाउँदो भूमिका पाएमा म आफूलाई प्रस्तुत गर्न तयार छु । सङ्ख्यात्मक भन्दा पनि गुणात्मक सिनेमामा देखिने मेरो चाहना छ’, उनले भने ।
ब्रिटिस मोडल एवं एक्टर एजेन्सी लङफोर्ड एसोसियटसँग आवद्ध भएर काम गरिरहेका अभिनेता धमालाले केही नयाँ प्रोजेक्टको तयारी गरिरहेका छन् ।


प्रतिक्रिया