द सिनेमा टाइम्स, काठमाडौं । यादव कुमार भट्टराईको निर्देशनमा निर्माण भएको सिनेमा ‘झिल्को’को टिजर सार्वजनिक भएको छ । सिनेमाको बिहीबार सार्वजनिक टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले समाजमा पार्ने असरलाई उजागर गरेको छ । टिजरमा मोबाइलले बालबालिकामा परेको असर चित्रण गरिएको देखिन्छ ।
टिजरमा विशेषगरी अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक प्रभावलाई देखाइएको छ । सिनेमामा मोबाइलका कारण सम्बन्धमा आउने दरार, व्यक्तिहरूबीचको दूरी र वास्तविक जीवनभन्दा डिजिटल संसारमा गुम्सिँदै गएका पात्रहरूको कथा झल्किन्छ ।
निर्देशक भट्टराईले यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित सिनेमाहरू निर्देशन गर्दै आएका छन् । ‘झोला’मा सती प्रथा र ‘भोर’मा दाइजो प्रथाको सामाजिक कथा देखाए झैं ‘झिल्को’मा अहिलेको समयमा प्रविधिको सामाजिक विस्तारिकरण र यसले पार्ने प्रभावको कथा प्रस्तुत गरिएको छ ।
मिडिया फर कल्चर प्रालिको प्रस्तुति र जनता टिभिले निर्माण सहकार्य गरेको सिनेमा आगामी वैशाख १९ गतेबाट प्रदर्शनमा आउँदैछ । सिनेमामा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, बालकलाकार आयुषी ढकाल, जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय रहेको छ ।
दीपक बज्राचार्यको छायांकन रहेको सिनेमामा निमेष श्रेष्ठको सम्पादन, श्याम कुँवरको कलर र साउण्ड मिक्सिङ उत्तम न्यौपानेको रहेको ‘झिल्को’को कथा र पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका हुन् । सिनेमामा आनन्द अधिकारीको गीत रचना, चण्डीप्रसाद काफ्ले र दिपक शर्माको संगीत, शिव परियार, निशा देशार र सहिमा श्रेष्ठको स्वर रहेको छ ।


प्रतिक्रिया