मिलन चाम्स निर्देशित ‘अञ्जिला’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया

मिलन चाम्स निर्देशित ‘अञ्जिला’लाई प्रिमियर शोमा उत्कृष्ट प्रतिक्रिया

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको फुटबलप्रतिको चाहना, क्षमता, घरभित्रबाट बाहिर निस्कन गरेको संघर्ष, काठमाडौंको सडकमै बस्नुपरेको अवस्थादेखि कप्तान बन्दासम्मको कथामा निर्माण भएको सिनेमा ‘अञ्जिला’को काठमाडौंमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) राजु अर्यालको प्रमुख आतिथ्यमा आयोजित प्रिमियरमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकहरू, पूर्व आइजिपी दुर्जकुमार राई, पूर्व पुरुष राष्ट्रिय फुटबल टिमका कप्तान तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापा, एन्फा महासचिव किरण राई, अभिनेत्री केकी अधिकारी र अलिशा राई, निर्देशक ज्ञानेन्द्र देउजा, नवल नेपाल लगायतका सिनेमाकर्मी, राष्ट्रिय खेलाडीहरू, पत्रकारहरू र शुभचिन्तकहरूको उपस्थित थिए ।

ललितपुरस्थित क्युएफएक्स सिनेमाज लविम मलमा आयोजित रेड कार्पेट प्रिमियरमा अभिनेता दयाहाङ राई, निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल, निर्देशक मिलन चाम्सको उपस्थिति थियो । यद्यपि, सिनेमाकी कथाकी पात्र तथा अभिनेत्री एन्जिला तुम्बापो सुब्बा र अन्य कलाकारहरू कार्य व्यस्तताका कारण उपस्थित रहेनन् ।

फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको सिनेमाको प्रिमियरपछि एन्जिलाले पाइलैपिच्छे समस्या र कठिनाइलाई पार गर्दै कप्तानसम्मको यात्रा तय गरेको कथा हेर्दा उपस्थित पाहुनाहरु भावुक बनेका थिए । खेल खेले बिग्रिन्छ भन्ने घर र समाजलाई छिचोल्दै कप्तानसम्मको यात्रा गर्नु एउटा ठुलो युद्ध जितेको भन्दा पनि कठिन रहेको र त्यो जीवनीलाई उत्कृष्ट रूपमा उतारेकाले निर्देशक मिलन चाम्सको प्रशंसा गरिएको छ ।

आइजिपी अर्यालले आफूले एन्जिला र उनको क्याप्टेनशिप मात्र देखिरहेको तर यो सिनेमाले एन्जिला हुनुको वास्तविकता देखाएको बताए । उनले भने, ‘हामीले सधैं एन्जिलाको खेल देख्यौं, उनको क्याप्टेनशिप देखेका थियौं तर, एन्जिला हुनुमा उनले कति संघर्ष गरेको रहेछ, कति पसिना र आँसु बगेको रहेछ भन्ने यो सिनेमाले देखायो । एपिएफ क्लबले एन्जिलालाई चिनायौं, एन्जिलाले देशलाई चिनाइन् । यो सिनेमा नयाँ पिँढीको लागि प्रेरणा हुन्छ ।’

पूर्व कप्तान गणेश थापाले सिनेमा हेर्दा आफू ३/४ पटक रोएको बताए । ‘एन्जिलाले यति धेरै संघर्ष गरेर आएको रहेछ । एन्जिलालगायत हामीले ती खेलाडीलाई ध्यान दिन सकेनौं भन्ने कुराको आत्मग्लानि भएको छ,’ एन्फाका पूर्व अध्यक्ष थापाले भने, ‘हाम्रो पालामा नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा खेल्ने खेलाडीलाई रोजगारीको ग्यारेन्टीको सुरुवात भएको हो । त्यसैको प्रतिफल आज महिला फुटबल खेलाडीको प्रगति भइरहेको छ ।’

सिनेमा हेरेपश्चात् भावुक हुँदै हलबाट निस्किएकी अभिनेत्री केकी अधिकारीले यो सिनेमाले आफ्नो मन छेडेर गएको बताइन् । ‘हाम्रो समाजमा महिलाहरू जुनसुकै क्षेत्रमा छन् भने पनि संघर्षपूर्ण यात्रा पार गरेर आएको हुन्छन् । त्यसमाथि पनि महिलाले खेलकुदमा यो किसिमको एउटा सफलता पाउनुको पछाडिको संघर्ष के-कस्तो थियो भन्ने विषय सिनेमा मार्फत आएको छ । एन्जिलाको संघर्षको कथा नपढेको नसुनेको होइन तर, सिनेमा मार्फत् आउँदा यसरी मन छेडेर गएको छ की निर्देशकले सुन्दर रूपमा एन्जिलाको वास्तविक जीवनलाई सामाजिक मूल्यमान्यता अनुसार पर्दामा उतार्नुभएको छ,’ अभिनेत्री अधिकारीले बताइन् ।

निर्देशक मिलन चाम्सले प्रिमियरबाट प्राप्त प्रतिक्रियाले आफू भावुक भएको प्रतिक्रिया दिँदै अब दर्शकको पालो रहेको बताए । ‘मैले एन्जिलालाई तिमीले अभिनय नगर, जीवनमा जे भोगेको छौ त्यति नै देखाउ, भनेको थिएँ । म आफैले पनि हरेक पटक सिनेमा हेर्दा भावुक हुने गरेको छु । धेरै ठाउँमा प्रिमियर भयो, सबै ठाउँमा प्रशंसा भएको छ । अब दर्शकको पालो आएको छ,’ चाम्सले भने ।

निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठले राम्रो सोच लिएर काम गरेपछि सबैले साथ दिनुहुने रहेछ भन्ने प्रमाणित भएको बताए । निर्देशक चाम्सको प्रशंसा गर्दै उनले भने, ‘मैले योजना सुनाएपछि उहाँले म तपाईँलाई सहयोग गर्छुु भन्नुभयो । यो सिनेमा बनाएर एन्जिलाको घर बनाउने कुरा सुनेपछि दयाहाङ राई लगायतका कलाकारले पनि अभिनयमा मात्र होइन, अन्य सहयोग पनि गर्ने वचन दिनुभयो,’ श्रेष्ठले भने ।

सिनेमामा एन्जिलासहित प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङको अभिनय छ । सिनेमाको छायांकन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौंमा गरिएको छ । सिनेमाको छायांकन सुदीप बराल र सम्पादन मिलन श्रेष्ठले गरेका छन् ।

मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित सिनेमाका निर्माता प्रेम कुमार श्रेष्ठ, कार्यकारी निर्माता विनोद अग्रवाल तथा टुबेन्द्र लिम्बु, र राजेश बगडिया सह-निर्माता हुन् ।