द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउत निर्देशित सिनेमा ‘महाभोज’को आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा प्रदर्शनमा आउने भएको छ । मंगलवार फर्स्टलुक सार्वजनिक गर्दै निर्माताले सिनेमाको प्रदर्शन मिति घोषणा गरेका हुन् । यो मितिमा नेपालसहित नेपालीहरू बसोबास गर्ने प्रायः सबै देशमा एकसाथ रिलिज हुने जानकारी निर्माण टिमले दिएको छ ।
सार्वजनिक पोस्टरमा सिनेमा मुख्य कलाकारको गम्भीर र चुनौतीपूर्ण हाउभाउ देखिन्छ । पोस्टरको पृष्ठभूमिमा नेपाली मुद्रा झल्किने डिजाइन गरिएको छ । जसले आर्थिक असमानता र सत्ताको प्रभावलाई संकेत गर्छ । सार्वजनिक पोस्टरको केन्द्रमा टोपी लगाएका अभिनेता आर्यन सिग्देललाई देख्न सकिन्छ । उनका वरिपरि अन्य कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत छन् । उनीहरूको अनुहारमा आक्रोश, पीडा, अन्याय र संघर्षको भाव देखिन्छ ।
सामाजिक तथा यथार्थपरक विषयमाथि बनेको ‘महाभोज’ सिनेमामा आर्यन, दयाहाङ, खगेन्द्र, अञ्जना, गौमाया, मलिकासहित वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारको अभिनय रहेको छ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको सिनेमाका निर्माता हिमाल कडरिया हुन् । सिनेमाको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । छायाकार राजेश श्रेष्ठ हुन् भने सम्पादन निमेष श्रेष्ठको, ध्वनि डिजाइन उत्तम न्यौपानेको, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ ।
मनोज जोशी निर्माण नियन्त्रक र सहायक निर्माण नियन्त्रक विदुर मानन्धर हुन् । साजन बस्ताकोटीको कला निर्देशन, रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन, समरा जोशीको मेकअप तथा सरस्वती श्रेष्ठको केश स्टाइलिङ तथा आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ । काफिया फिल्मस् र कुबेर सिने डिस्ट्रिब्युसनले नेपालमा सिनेमाको वितरण गर्नेछन् ।



प्रतिक्रिया