द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत्र २९ गते नयाँ वर्षको अवसरमा रिलिज हुने सिनेमा ‘कर्मा’बाट अभिनेत्री उपासना सिंह ठकुरीको लुक्स सार्वजनिक भएको छ । सार्वजनिक लुक्समा उनी सामान्य कुर्थासुरुवालमा देखिएकी छन् । मोर्डन युवतीभन्दा पनि उनी गाउँबाट सहर आएकी युवतीजस्तो देखिएकी छन् ।
यद्यपि, यसबारे निर्माणपक्षले केही खुलाएको छैन । तर, उनको लुक्स र यसअघि सार्वजनिक विपीनको लुक्स हेर्दा उनीहरूको जोडी शारीरिक हिसावले सुहाउँदो देखिएको छ । उपासनाको क्यारेक्टरबाहेक देखाइएको छैन । ‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका हुन् । ‘कर्मा’को छायांकन दाङ र काठमाडौंमा गरिएको थियो ।
एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा विपीनको पहिलो एक्सन सिनेमा हो । ‘कर्मा’मा उपासनासहित विपिन कार्की, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय रहेको छ । मुकुन यो सिनेमामा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भएको सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन् ।
‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गरिसकेको छ । सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार सेभेन सिज सिनेमाले लिएको छ । केही समय अघि सार्वजनिक पोस्टरले दर्शकमाझ उत्सुकता बढाएसँगै ओभरसिज मार्केटमा पनि ‘कर्मा’प्रति चासो बढेको सेभेन सिज सिनेमाले जानकारी दिएको छ ।
आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहनेछ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।



प्रतिक्रिया