द सिनेमा टाइम्स, काठमाडौं । चैत्र १ गते आज शुक्रबारबाट दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’ प्रदर्शनमा आएको छ । प्रिमियर शोमा पाएको उत्कृष्ट प्रतिक्रियाले सिनेमाले आजबाट राम्रो सुरुवात गर्ने अपेक्षा गरिएको हो । सिनेमाले विश्वका प्रसिद्ध सिनेमा महोत्सवमा पनि उत्कृष्ट प्रतिक्रिया पाएकाले नेपाली दर्शकमाझ सिनेमाप्रति उत्साह देखिन्छ ।
यो सिनेमाले सिंगल स्क्रिनदेखि मल्टीप्लेक्ससम्म राम्रो शो पाएको छ । सिनेमा देशभरका १ सय बढि स्क्रिनमा प्रदर्शनमा आएको छ । विदेश दर्शकले रुचाएको सिनेमालाई नेपाली दर्शबाट उत्कृष्ट वडअफ माउथ मिलेको खण्डमा अझै शो थपिने विश्वास निर्माण टिमको छ । शुक्रबारका विहानी शोमा सिनेमाको अकुपेन्सी सुखद् देखिन्छ ।
सिनेमामा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ ।
सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ । यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।
प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए ।
सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् । यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका छन् ।
यसैबीच, हिजो बिहीबारबाट नै देशभरका सिनेमा घरमा वायोपिक ‘अञ्जिला’ र एक्सन सिनेमा ‘आउटल: दफा २१९’ पनि प्रदर्शनमा आएका छन् ।


प्रतिक्रिया