द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत २९ गतेबाट नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आउने सिनेमा ‘कर्मा’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट लामोको टिजरमा अभिनेता विपिन कार्की हावी छन् । उनी एक्सन अवतारमा देखिएका छन् । उनको पात्रमा बदलाको भाव देखिन्छ । उनले काम गरेको ‘नाका’पछि यो दोस्रो एक्सन सिनेमा हो ।
टिजरमा कथावस्तु प्रष्टसँग खुलाइएको छैन । यद्यपि, एक पात्रले आर्मी बन्न गरेको संघर्ष र त्यस क्रममा उसको जीवनमा घट्ने विभिन्न घटनाक्रमलाई सिनेमाले मुख्य कथावस्तु बनाएको संकेत टिजरले गर्छ । विपिनलाई केही दृश्यमा भावुक देख्न सकिन्छ । टिजरमा सबैभन्दा ध्यान खिच्ने पक्ष भनेको बाइक स्टन्ट हो । साथै, ब्याकग्राउन्ड म्यूजिक पनि सशक्त छ ।
‘कर्मा’लाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । यसअघि उनले ‘अगस्त्य’ निर्देशन गरेका थिए । सिनेमामा विपिनको जोडी अभिनेत्री उपासना सिंह ठकुरीसँग बाँधिएको छ । यो उनीहरुको पहिलो सहकार्य हो । सिनेमामा मुकुन भुसाल, दिव्यदेव पन्त, सरिता गिरी, बेन बस्नेत लगायतको पनि अभिनय छ । मुकुनले सिनेमामा नकारात्मक भूमिका निवार्ह गरेका छन् ।
आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको सिनेमालाई संजय लामाले खिचेका हन् । वसन्त लम्सालको लगानी रहेको सिनेमामा निर्देशक चौधरी स्वयंको कथा छ । सिनेमामा भाष्कर स्वाँरको संगीत निर्देशन तथा ब्याकग्राउन्ड म्यूजिक, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी तथा निमेष श्रेष्ठको सम्पादन छ । ‘कर्मा’लाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज सिनेमाले वितरण गर्नेछ ।


प्रतिक्रिया