द सिनेमा टाइम्स, काठमाडौं । सिनेमामा हुने ‘सेन्सरसिप’को कुरा प्रतिनिधिसभा बैठकमा पनि उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै कला बुझेको मान्छेलाई केन्द्रीय चलचित्र जाँच समितिमा नियुक्त गर्न आग्रह गरेका छन् ।
सांसद शाहले सिनेमा रिलिजको मुखमा अनावश्यक काँटछाँट गर्ने प्रवृत्ति बढेकोप्रति विरोध जनाउँदै प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा बोलेको दृश्यलाई समेटेर सिनेमा निर्माण गर्दा ‘राजागंज’लाई सेन्सर गरिएको कार्यको भत्र्सना गरेका थिए ।
सिनेमा समाजको ऐना रहेको भन्दै सिनेमामार्फत समाजका कुरा व्यक्त गर्दा सरकारले अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने कामको सांसद शाहले विरोध गरेका हुन् । सिनेमाकर्मीले अघि बढाउन खोजेको सेन्सरसिपको आन्दोलनमा आफूले ऐक्यबद्धता जनाउने पनि उनले बताए । राजनीतिक नियुक्ति पाएका सेन्सर बोर्डका ‘ननसेन्सर’ सदस्यलाई हटाएर कला बुझेका मान्छे नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


प्रतिक्रिया