द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत १५ गते रिलिज हुने सिनेमा ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट ३ सकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।
प्रायः सबै पात्रहरूलाई प्रस्तुत गरिएको ट्रेलर सिनेमाको शीर्षक वरपर घुमेको छ । सिनेमामा डोरीलाई शक्ति रहेको स्थितिमा सबैले खोजी गरिरहेको देखाइएको छ । सोही क्रममा आइपर्ने घटनाक्रमहरू प्रमुख रूपमा उठान गरिएको छ भने पारिवारिक तथा सामाजिक व्यवधानहरू समेत ट्रेलरमा देखिन्छ । ट्रेलरमा केही थ्रिल तथा हरर दृश्यहरू समेटिएका छन् ।
निर्देशक अरुण लामाले थ्रिल र हररलाई ‘दाल भात तरकारीमा चटनी प्रयोग गरेर स्वादिलो बनाएको जस्तो’ तरिकाले राखिएको बताए । ‘यो कथा पूर्णतया सामाजिक हो र कहीँ न कहीँ सबैको जीवनसँग मेल खान्छ,’ निर्देशक लामाले भने । यसअघि ‘डोरी’का पोस्टरहरू सार्वजनिक गरिएको थियो, जसले सिनेमा थ्रिलर तथा हरर जनराको हुनसक्ने संकेत दिएको थियो ।
‘डोरी’को लेखन निर्देशक अरुण लामाले गरेका हुन् । सिनेमामा अरुण आफैंले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, बिरेन्द्र सिंह कुशवाहा लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
सिनेमाका निर्माता दिनेश भट्टराई तथा कार्यकारी निर्माता राज थापा हुन् । सिनेमाको स्क्रिप्ट डाक्टर मनोज पण्डित, मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, संगीत निर्देशक राजनराज सिवाकोटी, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रङ्ग संयोजन रेनीश फागो गरेका छन् ।


प्रतिक्रिया