द सिनेमा टाइम्स, काठमाडौं । बलिउड स्क्रिप्ट राइटर भवानी अयरले नेपालमा स्क्रिप्ट राइटिङ (पटकथा) लेखनको चार दिने कार्यशाला सुरु गरेकी छन् । भवानीले ‘गो टु टेल इट अन माउन्टेन’ शीर्षकमा नेपाली सिनेमा लेखकका लागि फिचर सिनेमाको पटकथा लेखन कार्यशाला आजदेखि सुरु गरेकी हुन् ।
शिक्षा फाउन्डेसन नेपालको आयोजनामा आजदेखि सुरु भएको कार्यशाला चैत ७ गतेसम्म चार दिन चल्नेछ । कार्यशालामा १६ जना नेपाली स्क्रिप्ट राइटर सहभागी छन् । विभिन्न विधा र पृष्ठभूमिका १६ पटकथा लेखकहरू कार्यशालामा छनोट गरिएका हुन् ।
कार्यशालाले नेपाली पटकथा लेखकलाई आफ्नो कलालाई निखार्न, आफ्नो पटकथामा भवानीबाट महत्वपूर्ण प्रतिक्रिया लिन अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । कार्यशालाले पटकथा लेखनका विभिन्न पक्षलाई समेट्नेछ, जसमा कथाको मूल मर्म पत्ता लगाउन, लेखकको क्षमता पहिचान गर्न, चरित्र निर्माण गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ ।
लेखकले आफ्नो फिचर सिनेमाको स्क्रिप्टमा प्रतिक्रिया लिने अवसर प्राप्त गर्नेछन् । कार्याशालाको अन्तिम दिन उनीहरूले आफ्ना पटकथाहरू नेपाली सिनेमा निर्मातालाई पिच गर्नसक्ने बताइएको छ । कार्याशालामा सहभागिताका लागि कम्तिमा एउटा फिचर सिनेमाको पटकथा लेखेका नेपाली लेखकलाई खुला आह्वान गरिएको थियो ।
भवानी स्क्रिनप्लेराइटिङमा थुप्रै अवार्ड विजेता स्क्रिनप्ले राइटर हुन् । उनले ल्यान्डमार्क सिनेमा ‘ब्ल्याक’, ‘गुजारिस’, ‘लुटेरा’, ‘राजी’, ‘साम बहादुर’ र वेब सिरिज ‘काफिर’, ‘ब्रेथः इनटु द स्याडो’, ‘द एम्पायर’जस्ता ऐतिहासिक सिनेमाको पटकथा लेखक हुन् ।
भवानीले विभिन्न पटकथा लेखन प्रयोगशालाहरूमा मेन्टरको काम गर्दै आएकी छन् । भारतसँगै विदेशका विभिन्न संस्थानहरूमा अध्यापन पनि गराउँदै आएकी छन् ।


प्रतिक्रिया