द सिनेमा टाइम्स, काठमाडौं । गत चैत्र १ बाट प्रदर्शनमा आएको सिनेमा ‘राजागंज’मा सेन्सर बोर्डले जथाभावी कैँची चलाएको विवादको विषय संसद्मा पनि प्रवेश गरिसकेको छ । प्रदर्शनरत यो सिनेमा राजनीतिक दलका नेताका लागि पनि चासोको विषय बनेको हो ।
सिनेमामा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशवादी दललाई लक्षित गरी ‘झरेको आँप’ भनी सार्वजनिक मञ्चमा गरको टिप्पणी समावेश थियो । यो भाषण र विभिन्न शब्दमा सेन्सर बोर्डले कैँची चलाएपछि सिनेमाकर्मीहरु एकजुट भएर यसका विरुद्धमा आवाज उठाइरहेका छन् ।
आइतबार ठमेलस्थित क्युएफएक्स छायाँ सेन्टर पुगे जनमत पार्टीका अध्यक्ष सीके राउत पनि यो सिनेमा हेरेका छन् । निर्देशक दीपक रौनियारले सिनेमामा मधेशको मुद्दा उपयुक्त ढङ्गले पर्दामा उतारेको प्रतिक्रिया नेता राउतले दिएका छन् । ‘सिनेमा हेर्दा मधेशका व्यक्तिहरुले रिलेट गर्ने खालको बनेको छ । हामीले सिनेमामा जस्तै वा त्योभन्दा बढी विभेद भोगिरहेकै छौं,’ उनले भने ।
सिनेमामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको भाषणमा सेन्सरले कैँची चलाएकोमा राउतले आपत्ति जनाए । साथै उनले यो अनावश्यक कार्य भएको समेत जिकीर गरेका थिए । ‘अध्यक्ष ओलीको टिप्पणीबारे हामीले त्यो बेला नै विरोध गरेका थियौं । सार्वजनिक स्थानमा रहेको भाषण फिल्ममा समावेश हुँदा सेन्सर चलाइनु वर्तमान व्यवस्थाको उपवास गर्नु हो,’ उनले भने ।
सिनेमामा अनावश्यक कैँची चलाएकोविरुद्धमा आफूले आवाज उठाउने राउतले प्रतिबद्धता व्यक्त गरेका छन् । सेन्सरको विषयको विवाद त मैले थाहा पाएको थिएँ तर यो सिनेमाको भन्ने थाहा थिएन । सिनेमामा जथाभावी काटिएको छ । योबारेमा हामी बोल्ने छौं,’ नेता राउतले भने ।
जनमत पार्टीका अध्यक्ष राउतसँगै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले पनि सिनेमा ‘राजागंज’ हेरेकी थिइन् । उनले पनि सिनेमामा प्रधानमन्त्रीको भाषणमा सेन्सर गर्न आवश्यक नभएको बताइन् । यो सेन्सरको विषयमा आफूले पनि संसद्मा कुरा उठाउने उनले बताइन् । ‘आज हाम्रो सांसदले कुरा उठाउने भयो । यसबारेमा मलगायत हाम्रा सांसदहरुले पनि कुरा उठाउनुहुन्छ,’ उनले भनिन् ।
सिनेमामा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ ।
सिनेमाले भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता विश्वका ठुला सिनेमा महोत्सवमा आफ्नो प्रभाव जमाई सकेको छ । यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो । सिनेमाले भेनिसमा १० मिनेटको स्ट्यान्डिङ ओभेसन प्राप्त गरेको थियो ।
प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रुपमै रौनियारको प्रशंसा गरेका थिए ।
सिनेमाको निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् । यो सिनेमालाई नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले संयुक्त रुपमा रिलिज गर्ने भएका छन् ।


प्रतिक्रिया