द सिनेमा टाइम्स, काठमाडौं । दीपक रौनियार निर्देशित सिनेमा ‘राजागंज’ले २०२५ नेदरलान्डको (पिंक सिनेमा डेज) महोत्सवमा ‘हिवोस फ्री टु बी मी’ अवार्ड जितेको छ । यो प्रतिष्ठित पुरस्कार एलजीवीटीक्यू समुदायका सदस्यहरूको अधिकार र स्वतन्त्रता प्रवर्द्धन गर्ने सिनेमालाई प्रत्येक वर्ष प्रदान गरिन्छ ।
नेपाली सिनेमाले पहिलो चोटी यो विश्व प्रसिद्ध पुरस्कार जितेको हो । हिवोसका अन्तरिम निर्देशक मिचल फार्कसले ‘पूजा, सर : राजागंज’ लाई नेपालको सामाजिक र राजनीतिक परिप्रेक्ष्य र पूजा पात्रको व्यक्तिगत चुनौतीको मार्मिक प्रस्तुति भनेर प्रशंसा गरेका छन् । ‘यो सिनेमाले दर्शकलाई अन्त्यसम्म बाधेर राख्छ,’ उनले भने ।
‘हिवोस फ्री टु बी मी’ अवार्ड एक यस्तो पुरस्कार हो जसले विशेष गरी ती क्षेत्रका फिल्महरूलाई सम्मानित गर्दछ जहाँ एलजीवीटीक्यू समुदायका सदस्यलाई अझै समेत अपहेलना र डरको सामना गर्नु पर्छ । यसअघि २०२४ मा एएसओजी (फिलिपिन्स) र २०२१ मा भ्यालेन्टिना (ब्राजिल) जस्ता सिनेमाले यो पुरस्कार जितीसकेका छन् ।
दीपक रौनियाले २८ मार्च २०२५ मा एम्स्टर्डमको केटेलहुइसमा आयोजित विशेष समारोहमा पुरस्कार ग्रहण गर्नेछन् । सिनेमाको प्रदर्शनपछि दर्शकसँगै अन्तरक्रिया कार्यक्रम पनि आयोजना हुनेछ । पुरस्कारको खबर पाएपछि रौनियारले खुशी हुँदै भने ‘यो पुरस्कारले झनै बढी हौसला थपेको छ ।’
पिंक सिनेमा महोत्सव २०२५ को २८ औं संस्करणको १९ मार्चदेखि ३० मार्चसम्म सञ्चालन हुनेछ । जसमा १२० भन्दा बढी सिनेमा प्रदर्शन गरिने छन् । यो महोत्सवमार्फत हिवोसले संसारभरिका विविध र समलिङ्गी कथाहरूलाई दर्शकहरूसम्म र्पुयाउने आफ्नो उद्देश्यलाई अघि बढाउँदै आएको छ ।


प्रतिक्रिया