द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत १५ गते रिलिज हुने सिनेमा ‘डोरी’का १० वटा क्यारेक्टर पोस्टरहरू एकसाथ सार्वजनिक गरिएको छ । सिनेमाको कथा भित्र कलाकारहरूको भूमिकामा आधारित रही पोस्टरहरू तयार गरिएको छ । जहाँ सिनेमाका धेरैजसो पात्रहरूको परिचय पाइन्छ ।
प्रदर्शनको नजिक रहँदा सार्वजनिक पोस्टरमा खुसीको कथा, दोस्तीको कथा, जलनको कथा, योद्धाको कथा, डरको कथा, निराशाको कथा, लोभी साहुको कथा, तस्करीको कथा, संघर्षको कथा, इमानदारीको कथा र पीडित ऋणीको कथा राखिएको छ । सिनेमाका कलाकार अरुण लामा, अञ्जना बराइली, राज पौडेल, राज थापा, प्रवीण खतिवडा, प्रकाश घिमिरे, नूतन, शिशिर बाङ्देल र कविता आले रहेका छन् ।
यसअघि नै एक कलाकार वीरेन्द्र सिंह कुशवहाको क्यारेक्टर पोस्टर सार्वजनिक भइसकेको थियो । केही दिन अघि ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको थियो । कमेडीसँगै केही थ्रिल तथा हरर दृश्यहरू समेत रहेको ट्रेलर शीर्षक वरपर घुमेको छ । ट्रेलरबाट दर्शकमा चासो बढेको छ । साथै, सिनेमाको ‘चुच्चे ढुङ्गो’ शीर्षकको गीत पनि सार्वजनिक भएको थियो । अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइलीलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको थियो ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । सिनेमाका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । सिनेमाको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायांकन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, रंङ संयोजक रेनीश फागो रहेका छन् ।


प्रतिक्रिया