एमएसएम भिडियोमा नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’का रिलिज हुने

एमएसएम भिडियोमा नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’का रिलिज हुने

द सिनेमा टाइम्स
609
Shares

द सिनेमा टाइम्स, काठमाडौं । अमेरिकामा निर्माण भएको नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’का दुई पोस्टर सार्वजनिक गरिएको छ । सिरिज निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले पोस्टर सार्वजनिक गर्दै सेभेन कलर्स डिजिटलले निर्माण गरेको यो सिरिज नेपाली ओटिटी ‘एमएसएम भिडियो’मा प्रसारण हुने जानकारी दिएका छन् ।

बिमलेशका अनुसार यो सिरिज नयाँ वर्ष २०८२ को अवसर पार्दै वैशाखको दोस्रो हप्ताबाट स्ट्रिमिङ हुनेछ । पहिलो सिजनको लागि १२ वटा शृंखला तयार भएका छन्, यी सबै शृंखला एकसाथ प्रसारणमा आउने निर्देशक अधिकारीले बताए ।

यो सिरिज व्यावसायिक रूपमा ओटिटीमा रिलिज हुने नेपालको पहिलो सिरिज रहेको निर्देशकले अधिकारीले बताए । ‘नेपाली वेब सिरिज पहिलो पटक व्यावसायिक रूपमा ओटिटीमा रिलिज हुँदैछ । यो इतिहासको नाम बन्न पाउँदा ज्यादै खुसी छु,’ अधिकारीले भने । सिरिजको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको छ ।

यसअघि यसको टिजर तथा प्रचारात्मक गीत ‘अमेरिकामा घर छ’ सार्वजनिक गरिएको थियो । टिजर तथा गीतले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली र आपसी सम्बन्धलाई चित्रण गर्छन् । अब पहिलो सिजनको लागि ट्रेलर सार्वजनिक गर्ने तयारीमा रहेको निर्देशकले बताए ।

सिरिजमा नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ-इन रिलेशनसिपमा रहेकी छोरीको कथा समेटिएको छ । जसले सिचुएशनल कमेडी-ड्रामा प्रस्तुत गर्नेछ । सिरिजले अमेरिकामा बसोबास गर्ने नेपाली परिवारको जीवनमा आउने विभिन्न उतार चढावलाई रोचक ढंगले प्रस्तुत गर्ने निर्देशक बिमलेश अधिकारीले बताए ।

नेपाली सिनेमाकी चर्चित अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि अभिनयमा पुनरागमन गर्दै यस सिरिजमा मुख्य भूमिका निभाएकी छन् भने निर्देशक अधिकारी पनि कलाकारको रूपमा प्रमुख भूमिकामा छन् । अरुणिमा र बिमलेशसँगै राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापाको पनि सिरिजमा अभिनय रहेको छ ।

निर्देशक अधिकारीकै अवधारणामा निर्माण भएको सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईले लेखेका हुन् । निर्माता रोशन घिमिरे तथा सह निर्मातामा सुमित्रा अधिकारी र कुमारी घिमिरे छन् । सिरिजको सम्पादन मित्र डि गुरुङ, रंग संयोजन कपिल पराजुली, छायांकन विक्रान्त मान श्रेष्ठ र शान थापाले पोस्टर डिजाइन गरेका हुन् ।