द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक तथा अभिनेता निश्चल बस्नेतले आगामी जेठ १५ गते प्रदर्शनमा आउने सिनेमा ‘महाभोज’का लागि गीत रेकर्ड गरेका छन् । हालै काठमाडौंको स्टुडियो सिनेमा उनले ‘लालुमै’ शीर्षकको गीत रेकर्ड गरेका हुन्, जसमा हर्क साउदको शब्द तथा केतन क्षेत्रीको संगीत रहेको छ ।
सिनेमा ‘महाभोज’लाई दिनेश राउतले निर्देशन गरेका हुन् । रोचक कुरा के छ भने, निश्चल बस्नेतलाई ‘काले दाई’ भनेर चिनाउने अवसर पनि निर्देशक राउतकै २०७४ सालमा रिलिज भएको सिनेमा ‘पर्व’को लोकप्रिय गीत ‘काले दाई’बाट मिलेको थियो । यो गीतमा निर्देशक बस्नेतले स्वर दिनुका साथै अभिनेत्री माला लिम्बुसँग नृत्य समेत गरेका थिए ।
निर्देशक दिनेश राउतका अनुसार ‘लालुमै’ गीतको लागि निश्चल बस्नेत नै उपयुक्त आवाज भएकाले उनलाई नै रोजिएको हो । ‘८ वर्षअघि ‘पर्व’को गीतका लागि निश्चललाई गाउन लगाउँदा एक अलग अनुभूति आएको थियो । अहिले ‘लालुमै’मा पनि फरक भोकल टोन आवश्यक परेकोले निश्चललाई नै लिएको हुँ,’ राउतले भने ।
सिनेमामा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारको अभिनय रहेको छ ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको ब्यानरमा निर्माणमा भएको सिनेमाका निर्माता हिमाल कडरिया हुन् । सिनेमाको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् । राजेश श्रेष्ठको छायंकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको ध्वनि डिजाइन, मुख्य सहायक निर्देशन दिनेश बहादुर रावतको रहेको छ ।
मनोज जोशी निर्माण नियन्त्रक र सहायक निर्माण नियन्त्रक विदुर मानन्धर हुन् । साजन बस्ताकोटीको कला निर्देशन, रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन, समरा जोशीको मेकअप, सरस्वती श्रेष्ठको केश स्टाइलिङ तथा आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ । सिनेमाको वितरण काफिया फिल्मस् र कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछन् ।


प्रतिक्रिया