द सिनेमा टाइम्स, काठमाडौं । केही हप्ता अघि फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार थालेको सिनेमा ‘हेल्लो काँशीराम’को निर्माण टिमले प्रचारलाई निरन्तरता दिएको छ । आगामी जेठ २ गते लाई प्रदर्शन मिति तोकिएको सिनेमाको गीत ‘झ्यामकी मादल झ्याम’को छायांकनका केही तस्बिर सार्वजनिक गरिएका छन्, जसमा अभिनेता दिलिप रायमाझीसँग अभिनेत्री प्रियंका कार्कीले नृत्य गरिरहेको देख्न सकिन्छ ।
अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका रहेको बताइएको छ । काठमाडौंमा आकर्षक सेट बनाएर खिचिएको यो गीतमा ६४ जना कोरस डान्सर छन् भने, कोरियोग्राफी कबिराज गहतराजले गरेका छन् । प्रताप दास र मेलिना राईको स्वर रहेको गीतलाई निर्माण टिमले नयाँ वर्षलाई लक्षित गर्दै सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
अभिनेता दिलिप रायमाझीको मुख्य भूमिका रहेको सिनेमाको पोस्टरले कमेडी शैलीमा निर्माण भएको संकेत गर्छ । रिम विश्वकर्माको लेखन तथा निर्देशनमा तयार भएको सिनेमामा दिलिपसहित सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), अर्जुन गुरुङ, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु लगायतका कलाकारको अभिनय छ ।
रेडलाइन फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता पीवी थापा हुन् । यो सिनेमालाई यम आलेले खिचेका हुन् । सिनेमामा द्वन्द्व निर्देशन शंकर महर्जन, सम्पादन मित्र डी गुरुङ, संगीत संयोजन नरेन्द्र वियोगी, विपिन आचार्यले गरेका छन् ।



प्रतिक्रिया