द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता हसन राजा खानको मुख्य भूमिका रहेको सिनेमा ‘वन अफ दि मिलियन्स’को छायांकन अमेरिका विभिन्न शहरमा गरिएको छ । ‘अलबिदा’बाट नेपाली सिनेमामा डेव्यु गरेका हसनले ११ दिन लगाएर छायांकन गरिएको जानकारी दिएका हुन् । यो सिनेमालाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । उनले यसअघि विपिन कार्कीलाई लिएर ‘सेल्फी किङ्ग’ निर्देशन गरेका थिए ।
एक नेपाली आप्रवासीको अमेरिका पुग्ने सपनाको कथालाई यो सिनेमाले भन्छ । अवैध बाटो अपनाएर आफ्नो भविष्य बनाउने आशामा घरपरिवार छाडेर अमेरिका पुग्नका लागि जोखिम मोल्ने नेपालीको कथामा सिनेमा बनेको निर्माणपक्षले बताएको छ । सिनेमामा हसनको साथमा कलाकार सुवास थापाको पनि मुख्य भूमिका छ । सुवास ‘विर्खेलाई चिन्छस्’ प्रदर्शन प्रश्चात अमेरिका पुगेका थिए । त्यसपछि उनी सिनेमामा देखिएका छैनन् ।
रामेश्वर कार्कीले खिचेको सिनेमाले दर्शकको मन जित्ने विश्वास गरिएको छ । सिनेमामा हसन र सुवासको साथमा अन्य २० जना अमेरिकामा नै रहेका कलाकारहरुले अभिनय गरेका छन् । सन् २००९ मा काठमाडौंमा आयोजित ‘मिस्टर क्यापिटल’ जितेका हसनले ‘अलबिदा’पछि ‘रोमियो’ निर्माण तथा अभिनय गरेका थिए । यो सिनेमाबाट पनि आफूलाई दर्शकहरुले अझै बढी साथ दिने हसनको विश्वास छ ।
हसनले सन् २०१५ मा कतारको राजधानी दोहामा आयोजित ‘नेफ्टा अवार्ड’मा उत्कृष्ट डेव्यु अभिनेताको अवार्ड जितेका थिए भने उनी न्यूयोर्कमा आयोजित ‘ग्लोबल सिनेमा अवार्ड’मा पनि सहभागी हुँदै सिनेमा ‘डिपार्चर’ निर्माणको घोषणा गरेका थिए । सिनेमा ‘वन अफ दि विलियन्स’लाई विभिन्न अन्तरराष्ट्रिय महोत्सवमा रिलिज गरिने र त्यसपछि नेपालमा रिलिज गरिने बताइएको छ ।


प्रतिक्रिया