द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक सन्तोष बाबु लोहनी नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार रिक्त रहेको दुई सदस्यमध्ये एक पदमा उनलाई मन्त्रीस्तरीय निर्णयबाट दुई वर्षका लागि नियुक्त गरेको हो ।
निर्देशक लोहनीले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङबाट बिहीबार नियुक्ति पत्र बुझेका छन् । अघिल्लो साता बोर्डका दुई सदस्य केएल बुढाथोकी र रविचन्द्र अधिकारीको कार्यकाल सकिएपछि बोर्ड सदस्यमा निर्देशक लोहनी नियुक्त भएका हुन् । अब बोर्ड सदस्यमा एकजना नियुक्त हुन बाँकी छ ।
विक्रम संम्वत २०४९ सालबाट सिनेमा ‘अपमान’मा अभिनय गर्दै करिअर थालेका उनले सिनेमा र टेलिभिजन कार्यक्रमको अभिनय, निर्देशन र निर्माणमा पनि सक्रिय छन् । ‘अपमान’, ‘जय विजय’जस्ता सिनेमामा शीर्ष भूमिका निर्वाह गरेका उनले ‘नारी, द वुमन’, ‘हेलो नेपाल’, ‘कोइराला, मानवताका लागि’ जस्ता चर्चित टेलिभिजन कार्यक्रममा पनि काम गरेका छन् ।
चलचित्र विकास बोर्ड सदस्य नियुक्त भएपछि निर्देशक लोहनीले नेपाली सिनेमा क्षेत्रको प्रवर्धन, नीति निर्माण र डिजिटल माध्यममार्फत विश्वव्यापी प्रचार प्रसारका लागि काम गर्ने बताएका छन् । यसअघि उनी बोर्डको अन्तर्राष्ट्रिय सिनेमा प्रवर्धन समितिको सदस्य थिए ।


प्रतिक्रिया