द सिनेमा टाइम्स, काठमाडौं । कान्तिपुर सिनेमा एकेडेमीले हिजो बिहीबार परेको विश्व रंगमञ्च दिवसको अवसरमा थिएटरको शीलान्यास गरेको छ । सिनेमा र थिएटरका अभिनयका विद्यार्थीको उपस्थितिमा महानायक राजेश हमालले यो थिएटरको शीलान्यस गरेका हुन् ।
फिल्म निर्माण र अभिनय सम्बन्धी विगत ९ बर्ष देखी अध्यापन गराउँदै आइरहेको कान्तिपुर सिनेमा एकेडेमीले गैह्रिधारा नक्सालको आफ्नै एकेडेमी परिसरमा यो थिएटरको सुरुवात गरेको हो । अभिनय पारखी र नाट्यकर्मीहरुको लागी थिएटर निर्माण गरेर रंगिन पर्दा र रंगमञ्चलाई जोडेर लाने उदेश्यले कान्तिपुर थिएटरको सुरुवात गरिएको एकेडेमीका सिईओ प्रकाश पुरीले जानकारी गराए ।
थिएटरको सुरुवातसँगै विद्यार्थीले कान्तिपुर सिनेमा एकेडेमीमा थिएटर सम्बन्धी पनि अध्ययन र अभ्यासको अवसर पाउनेछन । बैशाख महिना भरिमा १४४ सिट क्षमताको यो थिएटर निर्माण सम्पन्न भइसक्नेछ । एकेडेमीको अभिनय ब्याचका विद्यार्थीका लागी थिएटर प्रोडक्सन र प्रदर्शनसँगै मञ्चनको लागी विभिन्न नाट्य समुह तथा रंगकर्मीको लागी पनि मञ्च उपलब्ध गराउने साथै छायांकन, अडिसन, स्क्रीनीङ्ग, शोज र सिनेमा सम्बन्धी अन्य गतिविधिको लागी पनि हल उपलब्ध गराउने एकेडेमीले जानकारी गराएको छ ।
यो थिएटरको शिलान्यास कार्यक्रमका प्रमुख अतिथि महानायक राजेश हमालले कान्पितुर थिएटरको निर्माणसँगै नेपाली सिनेमा र रंगमञ्चमा आउन र सिक्न खोज्ने नव प्रवेशीहरुको लागी अवसरको दायरा फराकिलो हुने विश्वास व्यक्त गरेका थिए । एकेडेमीले अझै राम्रा प्रोडक्ट र प्रोडक्सन गरोस् भन्दै सबैलाई रंगमञ्च दिवसको शुभकामना समेत दिए ।
कान्तिपुर सिनेमा एकेडेमीले गत बर्ष कान्तिपुर सिनेमाज नामक ओटीटी प्लेटफर्मको पनि सुरुवात गरेको थियो । हाल कान्तिपुर सिनेमाजमा सिनेमा, सिरीज, छोटा सिनेमा, मिनी सिरीज र थिएटर प्ले पनि स्ट्रमीङ्ग भइरहेका छन् ।



प्रतिक्रिया