द सिनेमा टाइम्स, काठमाडौं । महानायक राजेश हमालले स्वर भरेसँगै सिनेमा ‘नरसिंहाः अवतार’को डबिङ सकिएको छ । सिनेमाका निर्देशक दिवाकर भट्टराईले अन्य सबै कलाकारको पनि डबिङ सकिएको बताए । अबको केही दिनमा सिनेमा तयार हुने उनले जानकारी दिए ।
डविङमा महानायक राजेश हमालले बोले-‘के तपाई मलाई वेवकुफ सम्झिनु हुन्छ वा साच्चिकै पागल ।’ डबिङ सकिएपछि हमाल सिनेमालाई लिएर निकै नै आशावादी र उत्साहित देखिए । ‘दर्शकले मलाई यसपटक फरक अवतारमा देख्नुहुनेछ, दर्शकका लागि यो सिनेमा सरप्राइज हुनेछ’, महानायक हमालले भने ।
सिनेमाको प्रदर्शन मिति सहितको फर्स्टलुक भोलि सोमबार सार्वजनिक गर्ने तयारी निर्माताको छ । यो सिनेमामा महानायक राजेश हमालसहित सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, प्रकाश कुँवर, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकारको अभिनय छ ।
दिवाकर भट्टराइकै लेखन रहेको सिनेमामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र धु्रव न्यौपानेको लगानी छ । क्रियटिभ सिने आर्ट्सका लागि निर्माता नेम महर्जन रहेका छन् । आठ वर्षपछि महानायक हमाल यो सिनेमाबाट कमब्याक गर्दैछन् । यसैले, उनको कमव्याक कस्तो होला भने कौतुहलता दर्शकमा छ । हमालले पनि यो सिनेमालाई महत्वकांक्षी प्रोजेक्टको रुपमा हेरेका छन् ।
राजु विक्रम थापाले खिचेको सिनेमामा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बास्कोटा र अर्जुन पोखरेलको संगीत छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको सिनेमाका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।


प्रतिक्रिया