सस्पेन्स थ्रिलर ‘खेल’को ट्रेलर सार्वजनिक, रहस्यमय पात्रमा देखिइन् सुरक्षा

सस्पेन्स थ्रिलर ‘खेल’को ट्रेलर सार्वजनिक, रहस्यमय पात्रमा देखिइन् सुरक्षा

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सस्पेन्स थ्रिलर सिनेमा ‘खेल’को ट्रेलर सार्वजनिक भएको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा प्रमुख कलाकार सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी, र भोलाराज सापकोटाको अभिनय देख्न सकिन्छ ।

सार्वजनिक ट्रेलरमा शिक्षकले विद्यार्थीलाई काठमाडौंको इतिहास पढाउँदै गरेका छन् भने केही अन्धविश्वास, रोगको प्रकोप र कालो जादुका विषय पनि उठ्छन् । पुराना कलाकृति र शिलालेखको दृश्य छन् । साथीबीचको मित्रता र असमझदारी दुवै देखाइएको छ । उनीहरू लुडो र अन्य खेलहरू खेलिरहेका छन् । अभिनेत्री सुरक्षा पन्तको अस्वाभाविक व्यवहार, हेना नगरकोटीको रहस्य सुल्झाउने प्रयास र मोनिका थापा र समापिका गौतमको फरक गतिविधिले रहस्य र डरको आभास दिन्छ ।

एउटा खेलपछि उत्पन्न हुने समस्याको चर्चा ट्रेलरमा गरिएको छ । एउटा पौराणिक कथा, सदियौँदेखिको बन्धन, एउटा घातक खेल, मित्रताको बन्धन, इष्र्याद्वारा भ्रष्ट, अकाट्य भोग जस्ता वाक्यांशले सिनेमाको रहस्यमय र डरलाग्दो वातावरणलाई थप बलियो बनाएका छन् । यसबाट थाहा हुन्छ कि यो सिनेमा साथीको कथासँगै काठमाडौं उपत्यकाको उत्पत्ति र इतिहास पनि बताउँछ ।

आगामी वैशाख १२ गते प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमाको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रणमा आधारित छ । अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका साथीहरुको कथा जसलाई आफ्नै विगतको भयानक घटनाले पछ्याइरहेको हुन्छ । ट्रेलरमा यी साथीहरूको जीवनमा आउने रहस्यमय घटनाहरू र तिनले सामना गर्नुपर्ने चुनौतीहरूलाई देखाइएको छ ।

सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको सिनेमा ‘खेल’लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका छन् । निर्मातामा लुइसराज महर्जन र आशिषराज महर्जन तथा सह-निर्मातामा कुणालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । सिनेमाको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् ।

सिनेमामा रोशन राई र सञ्जय लामाको छायांकन, आशिषराज महर्जनको सम्पादन, विकल प्रधानको ध्वनि डिजाइन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन, किशोर नेपालको प्रोडक्सन डिजाइन, यमप्रसाद ओलीले प्रोडक्सन म्यानेजरको जिम्मेवारी सम्हालेका छन् । सिनेमाको वितरण डिसिएन र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको छ ।