महानायक हमाल र राजको फर्स्टलुकसहित जेठ ९ मा ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति घोषणा

महानायक हमाल र राजको फर्स्टलुकसहित जेठ ९ मा ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति घोषणा

द सिनेमा टाइम्स
553
Shares

द सिनेमा टाइम्स, काठमाडौं । महानायक राजेश हमालको कमव्याक सिनेमा ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति घोषणा गरिएको छ । यसअघि चैत्रको २९ गते रिलिज हुने भनिएको सिनेमा अब आउँदो वर्षको जेठ ९ गतेबाट रिलिजमा आउने पक्का भएको हो । सोमबार काठमाडौंको ग्लोबल कलेजमा भव्य कार्यक्रमको आयोजना गर्दै सिनेमाको फर्स्टलुक सार्वजनिक गरिएको थियो ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमाबाट महानायक राजेश हमालले ८ वर्षपछि नेपाली सिनेमा क्षेत्रमा कमब्याक गर्दैछन् । यसकारण, पनि यो सिनेमा विशेष र प्रतिक्षित छ । संभवतः नेपाली सिनेमाको इतिहासमा नै सबैभन्दा लामो पोस्टर कार्यक्रममा सार्वजनिक गरिएको थियो । कार्यक्रममा महानायक राजेश हमालले आफूले ३ सय बढी सिनेमामा काम गरेको तर यति ठूलो पोस्टर हालसम्म नदेखेको बताए ।

सिनेमामा राजेश हमालको साथमा सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजिभ जंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेल लगायतका कलाकारहरुको अभिनय छ ।

सिनेमामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको यो सिनेमाका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् । कार्यक्रममा विद्यार्थीहरुमाझ महानायक राजेश हमालसँग सम्बन्धित १० प्रश्न गरिएको थियो । सही जवाफ दिने विद्यार्थीलाई सिनेमाका कलाकारहरुले उपहार प्रदान समेत गरेका थिए ।

यो सिनेमा हेर्न आफूहरु निक्कै उत्साहित भएको ग्लोबल कलेजका विद्यार्थीहरुले बताए । सिनेमा ‘नरसिंहाः अवतार’लाई प्रेम, सस्पेन्स र एक्सनको मिश्रण भनिएको छ । राजु विक्रम थापाले खिचेको सिनेमामा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको कथा, राजु लामाको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत छ । पोस्टरको डिजाइन राकेश दाहालले गरेका हुन् ।