सुशान्त गौतम निर्देशित ‘अभिमन्यु’को शुभमुहूर्तसँगै छायांकन सुरु

सुशान्त गौतम निर्देशित ‘अभिमन्यु’को शुभमुहूर्तसँगै छायांकन सुरु

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सुशान्त गौतमको डेव्यु निर्देशनमा निर्माण हुने ‘अभिमन्यु’को शुभमुहूर्त गरिएको छ । निर्माणपक्षले आज कीर्तिपुरमा सिनेमाको स्कृप्ट पूजा गर्दै शुभमुहूर्त गरेको हो । शुभमुहूर्तमा सिनेमाका अधिधकांश मुख्य कलाकारको उपस्थिति थियो । मुहूर्त सट लिइएसँगै सिनेमाको छायांकन समेत सुरु भएको छ ।

‘अभिमन्यु’मा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन् । निर्माता विनोद पौडेलले सिनेमाको पात्रअनुसार बलियो लाइनअप तयार गरिएको बताए । सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलका अनुसार ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमाको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको सिनेमाको मुख्य कथा भएको बताइएको छ । मुकेश खनालको लेखन रहेको सिनेमाको क्रिएटिभ निर्देशक मदन थापा हुन् ।

विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् । ‘अभिमन्यु’मा शरद महतोको डिओपी रहनेछ । यो सिनेमालाई विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज गरिनेछ ।