सनम कुमार बैराग निर्देशित नाटक ‘भीमसेन थापा’ नेपाल र बेलायतमा मञ्चन हुने

सनम कुमार बैराग निर्देशित नाटक ‘भीमसेन थापा’ नेपाल र बेलायतमा मञ्चन हुने

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । युगकवि सिद्धिचरण श्रेष्ठले लेखेको खण्डकाव्य ‘भीमसेन थापा’मा आधारित नाटक मञ्चन हुने भएको छ । निर्देशक सनम कुमार बैरागको परिकल्पनामा तयार भएको यो नाटक बेलायत र त्यसपछि नेपालका विभिन्न सहरमा प्रस्तुत गरिने भएको हो ।

भीमसेन थापा नेपालको पहिलो प्रधानमन्त्री थिए । जसले राष्ट्रको संरक्षण र स्वाधीनताका लागि अनगिन्ती संघर्ष गरेका छन् । उनको जीवन राजनीतिक उतार-चढाव, सैनिक युद्ध, र व्यक्तिगत संघर्षले भरिएको थियो । भीमसेन थापाको योगदानलाई साहित्यिक रूपमा उजागर गर्ने प्रयास युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो खण्डकाव्य भीमसेन थापा मार्फत गरेका थिए ।

अब यो साहित्यिक कृति मञ्चमा जीवन्त हुन लागेको हो । नाटकको निर्देशन सनम कुमार बैरागले गरेका छन्, जसले भीमसेन थापाको भूमिकामा आफैलाई प्रस्तुत गर्नेछन् । यो नाटकको सह–निर्मातामा दिल घले रहेका छन् । करिब चार दशक अगाडी नेपाली रङ्गमञ्चमा सक्रिय निर्देशक बैराग पछिल्लो समय लण्डनमा बस्दै आएका छन् । उनले निर्देशन गरेको सिनेमा ‘कैदीको पत्र’ गतवर्ष रिलिज भएको थियो ।

यसअघि उनले सन् २०१६ देखि बेलायतमा नै नाटकहरू ‘समय दृश्य’ र ‘जिगिशा’ मञ्चन गरिसकेका छन् । ‘भीमसेन थापा’ पनि यसअघि बेलायत मञ्चनमा सफल रहेको र यसपटक पुनः मञ्चन हुन लागेको निर्देशक बैरागले बताए । नाटकलाई अझ प्रभावशाली बनाउन गीत संगीतलाई विशेष स्थान दिइएको छ । संगीतकार तारा प्रकाश लिम्बुको संगीत र सपन कुमार राईको आवाज यो नाटकमा गुन्जिनेछ । गीतका शब्द सनम कुमार बैरागले लेखेका हुन् । नृत्यको संयोजन पनि यस नाटकको अर्को महत्त्वपूर्ण पक्ष हो । कोरियोग्राफर चरण प्रधानले ऐतिहासिक समयको चित्रण गर्ने शैलीमा नृत्यको निर्देशन गरेका छन् ।

नाटकको मञ्चन बेलायत र नेपाल दुवै ठाउँमा गरिनेछ । बेलायतमा अप्रिल २६ देखि मे महिनाभर लन्डन, रिडिङ, विलविच, अल्डरसट, स्कटल्यान्ड लगायतका विभिन्न सहरमा मञ्चन हुनेछ । नेपालमा काठमाडौंको मण्डला थिएटरमा लगातार १५ शो प्रदर्शन हुनेछ, जुन आगामी दशैं तिहारपछि सुरु हुनेछ । काठमाडौंको प्रदर्शनपछि पोखरा, चितवन, बिर्तामोड, धरान लगायतका सहरमा नाटक मञ्चन गरिनेछ ।

यो नाटकमा अनुभवी कलाकारको टोली रहेको छ । जसमा सामन्ता तामाङ, सुरेश श्रेष्ठ, गोपाल बस्नेत र सुशन गुरुङ रहेका छन् । भीमसेन थापा केवल एक ऐतिहासिक व्यक्तित्व मात्र होइनन्, उनी नेपालको राष्ट्रिय पहिचानसँग जोडिएको नाम हो । उनको योगदानलाई पुस्तौं पुस्तासम्म पुर्याउने उद्देश्यले तयार पारिएको यो नाटक नेपाली रङ्गमञ्चका लागि महत्त्वपूर्ण हुनेछ ।