उच्च शोसहित प्रदर्शनमा आयो प्रकाश र स्वस्तिमाको ‘वसन्त’

उच्च शोसहित प्रदर्शनमा आयो प्रकाश र स्वस्तिमाको ‘वसन्त’

द सिनेमा टाइम्स
329
Shares

द सिनेमा टाइम्स, काठमाडौं । चैत्र २२ गते आज शुक्रबारबाट गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’ प्रदर्शनमा आएको छ । यो सिनेमा सिंगल स्क्रिनदेखि मल्टीप्लेक्स सम्म उच्च शोसहित प्रदर्शनमा आएको हो । वितरक अशोक शर्माका अनुसार सिनेमा देशभरका हलमा २ सय ७५ बढि शोसहित रिलिज भएको हो ।

सिनेमाको यसअघि सार्वजनिक प्रचार सामाग्रीले दर्शकमाझ उच्च हाइप निर्माण गरेकाले राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । गायक तथा अभिनेता सपुतले आफ्नो पहिलो निर्देशकिय सिनेमा ‘वसन्त’ रहेकाले दर्शकबाट केकस्तो प्रतिक्रिया आउला भन्ने प्रतिक्षासँगै डर समेत रहेको बिहीबार साँझ एक भिडियो सन्देश मार्फत् बताएका छन् ।

शुक्रबारको विहानी शोमा सिनेमाको अकुपेन्सी सुखद् देखिएको छ । विहानी शोबाट मिलेको दर्शक प्रतिक्रियाले दिउँसोबाट हलमा दर्शकको चाप देखिने अपेक्षा निर्माण टिमको छ ।

नेपाल र विदेशमा एक साथ रिलिज भएको सिनेमा ‘वसन्त’मा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।