जेठ २ गते रिलिज हुने ‘के घर के डेरा : घर नं २’को तीन पोस्टर सार्वजनिक

जेठ २ गते रिलिज हुने ‘के घर के डेरा : घर नं २’को तीन पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
147
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा : घर नं २’ले एकसाथ ३ पोस्टर रिलिज गरेको छ । बिहीबार ३ पोस्टर सार्वजनिक गर्दै सिनेमाले रिलिज मिति समेत परिवर्तन गरेको नयाँ जानकारी दिएको छ । यसअघि जेठ ९ गते रिलिज हुने भनिएको सिनेमा अब एक साता पहिले अर्थात् जेठ २ मा रिलिज हुने भएको छ ।

सार्वजनिक तीन पोस्टरमध्ये एकमा निश्चल बस्नेतलाई सोलो रुपमा प्रस्तुत गरिएको छ । जहाँ निश्चललाई कतै पुग्न हतार भएझै गरी कुदिरहेको अवस्थामा देख्न सकिन्छ । यो पोस्टरमा उनको अनुहारले उनी तनावपूर्ण अवस्था रहेको देखाउँछ । यसैगरी दोश्रो पोस्टरमा अर्का अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री उपासना सिंह ठकुरीलाई रोमान्टिक शैलीमा प्रस्तुग गरिएको छ ।

पोस्टरमा झोला भिरेकी तथा हातमा केही सामान बोकेर हिँडिरहेकी उपासनालाई अभिनेता खगेन्द्रले साइकल डोराउँदै, मुस्कुराउँदै पछ्यारहेको देख्न सकिन्छ । यसैगरी तेश्रो पोस्टरमा सिनेमाका अधिकाशं मुख्य पात्रहरुलाई प्रस्तुत गरिएको छ । सार्वजनिक ३ मध्येको सबैभन्दा शक्तिशाली यो पोस्टरले सिनेमाको नाम अनुसारको बिम्बमा आफूलाई प्रस्तुत गरेको छ ।

पोस्टरमा पात्रहरूलाई तीन तले घरको तल्लाका विभिन्न कोठाको झ्यालमा भएझैं गरी डेरा जीन्दगीमा उनीहरुको मनोदशामा प्रस्तुत गरेको छ । जहाँ एकातर्फका कलाकार कोही गम्भिर भाव त कोही चिन्तित मुद्रामा छन् भने अर्को तर्फको भागमा खुशी मुद्रामा सिनेमाका पात्रहरुलाई देख्न सकिन्छ ।

सार्वजनिक पोस्टरमा अभिनेता आर्यन सिग्देल, खगेन्द्र लामिछाने तथा अभिनेत्री केकी अधिकारीलाई गम्भिर, चिन्ताग्रस्त र गम्भिर भावमा देख्न सकिन्छ भने अर्को तर्फ निश्चललाई खुशी अवस्थामा, अभिनेता प्रकाश घिमिरेलाई उपसनासँग खुशी मुडमा र श्रृजना नापितलाई खुशी भइरहेको देख्न सकिन्छ । सिनेमामा संजोग रसाइली, रुविना घिमिरेको पनि मुख्य भूमिका रहेको छ ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रियशनको प्रस्तुतिमा निर्माण भएको सिनेमालाई ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धि सागरले लेखेका हुन् । यो उनी लिखित पहिलो सिनेमा हो । कृष्ण बहादुर थापाको सिनेमामा छायांकन रहेको छ । नकिमउद्दिन, शरद श्रेष्ठ तथा किरण महर्जनको निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता युवराज कार्की हुन् ।