द सिनेमा टाइम्स, काठमाडौं । हिमाल न्यौपानेको डेव्यु निर्देशनमा निर्माण हुने सिनेमा ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । आइतबार काठमाडौंको बूढानीलकण्ठ मन्दिरमा क्यामरा र स्क्रिप्ट पूजा गर्दै सिनेमाको शुभमुहूर्त गरिएको हो । मन्दिर परिसरभित्रै सिनेमाका कलाकारहरु मिरुना मगर, सुशांक मैनाली, गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सट दिएका थिए ।
सिनेमाको छायांकन भने भोलि सोमबारबाट सुरु गरिने सिनेमाका एसोसियट निर्देशक मनिष राउतले बताए । काभ्रेपलान्चोकको पनौतीबाट छायांकन सुरु हुने सिनेमालाई पाल्पा र काठमाडौंमा पनि खिचिने जानकारी उनले दिएका छन् । ‘प्रेमगीत ३’ फेम्ड अभिनेता राउतले यही सिनेमाबाट निर्देशनमा कदम चाल्न लागेका हुन् । सिनेमाको छायांकन सेड्युल ४० दिनको राखिएको छ ।
सिनेमामा विजय बराल, केकी अधिकारी, रियर राई, भोलाराज सापकोटा, मनिष राउत लगायतको पनि अभिनय रहनेछ । सिनेमाले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ । सिनेमाले आमा-छोराबीचको सम्बन्धलाई मियो बनाएर कथावाचन गर्ने जनाइएको छ ।
पेपरक्लिप प्रालिको निर्माण रहने सिनेमाका निर्माता विमल न्यौपाने तथा कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर रहेका छन् । नवीन गुरुङको छायांकन रहने सिनेमामा भानुभक्त ढकालको लेखन तथा थानेश्वर गौतम र एसडी योगीको संगीत छ ।


प्रतिक्रिया