द सिनेमा टाइम्स, काठमाडौं । मिस नेपालको ताज उषा खड्गीले सन् २००० मा जितेपनि सिनेमा अभिनयमा डेब्यू गर्न लामो समय लगाइन् । मिस नेपाल भएको २५ वर्षपछि उषाले सिनेमामा डेब्यू गरेकी हुन् । उनको डेब्यू अभिनय रहेको सिनेमा ‘नरसिंहाः अवतार’ जेठको ९ गतेबाट रिलिजमा आउँदैछ ।
सिनेमामा उषाको भूमिका के होला भन्ने कौतुहलता दर्शकमा छ । यसैविच, यसको निर्माणपक्षले उनको फर्स्टलुक सार्वजनिक गरेको छ । सार्वजनिक पोष्टरमा उषा मुस्कुराएकी छिन् । उनको पछाडि नरसिंहाको ठूलो चित्र देख्न सकिन्छ । यो सिनेमालाई लिएर आफू निकै उत्साहित रहेको उषाले बताएकी छिन् । तर, सिनेमामा उनी महानायक राजेश हमालको जोडीको रुपमा हुन् वा होइनन् खुलेको छैन ।
उषाले पनि अहिले नै यो कुरा खुलाउन नमिल्ने बताएकी छिन् । उसो त उषाले महानायक राजेश हमालसँग म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । तर, सिनेमामा हमालसँग पर्दा शेयर गर्न पाउँदा निकै खुशी भएको र आफ्नो कामलाई दर्शकले कसरी लिनुहुन्छ भन्ने कुराले कौतुहल्ता बढाएको उषाको भनाई छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा निर्माण भएको यो सिनेमामा राजेश हमाल, निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिषा भट्टराई, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ । यो सिनेमामा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।



प्रतिक्रिया