द सिनेमा टाइम्स, काठमाडौं । आगामी बैशाख १९ गते रिलिज हुने सिनेमा ‘झिल्को’ले संवेदनशील विषय उठान गरेको छ । आइतबार सिनेमाको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । जहाँ स्कुले पोसाकमा एक बालिका हातमा मोबाइल बोकेर प्रस्तुत गरिएको छ । त्यसको पछाडि एक वृद्ध पुरुषलाई भावुक अनुहार देख्न सकिन्छ । यसले सिनेमाको कथा पुस्तान्तरण, प्रविधिको कुलत र त्यसले निम्त्याउने पारिवारिक टकरावलाई संकेत गर्छ ।
प्रविधि आफैंमा खराब होइन, तर त्यसको अनियन्त्रित र असावधानीपूर्ण प्रयोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने सन्देश बोकेको यो सिनेमाले एक बालिकाको डिजिटल लतको यात्रा भन्ने निर्देशक यादवकुमार भट्टराईले बताए ।
यसअघि ऐतिहासिक तथा सामाजिक सन्देशमूलक सिनेमा ‘झोला’ निर्देशन गरेका यादवकुमार भट्टराईले अभिभावक, शिक्षक, नीति निर्माता र सम्पूर्ण समाज मिलेर बालबालिकालाई डिजिटल कुलतबाट जोगाउनु आजको आवश्यकता रहेका कारण सिनेमाको माध्यमबाट आफूले कथा भन्न खोजेको बताए ।
मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण भएको सिनेमामा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको अभिनय छ । सिनेमाको छायांकन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, कलर तथा साउन्ड मिक्सिङ श्याम कुँवर र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका छन् ।
जनता टिभीको निर्माण सहकार्यमा निर्माण ‘झिल्को’को कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर लेखेका हुन् । सिनेमाका कार्यकारी निर्मातामा उमेश पौडेल तथा निर्मातामा सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य छन् ।



प्रतिक्रिया