द सिनेमा टाइम्स, काठमाडौं । गत वर्षको पुषमा रिलिज भएको सिनेमा ‘कार्साङ’का निर्देशक याम शेर्पाले नयाँ सिनेमा ‘मिरमिरे’को निर्माण घोषणा गरेका छन् । निर्देशक शेर्पाले नयाँ वर्ष २०८२ को अवसर पारेर थिम पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरेका हुन् ।
यार्सा फिल्मस्को प्रस्तुतिमा निर्माण हुने सिनेमाले ग्रामीण परिवेशको सामाजिक कथा भन्ने छ । थिम पोस्टरमा एक महिला र एक पुरुष पात्र देखिएका छन् । उनीहरू मिरमिरे बिहानीमा सूर्यको किरणको स्पर्शमा उभिएका छन् । सूर्यको पहिलो किरणसँगै केही योजना बनाएर नयाँ कामको सुरुवातको तयारी गरिरहेको थिम पोस्टरले संकेत गरेको छ ।
सिनेमाको पोस्टरले बिहानीसँगै नयाँ संकल्प गरेको संकेत गरेपनि पात्रको उद्देश्य के हो र के गर्न खोजिरहेका छन् भन्ने प्रष्ट पारिएको छैन । सिनेमाको निर्देशन तथा कथा पनि निर्देशक शेर्पा स्वयंले लेख्नेछन् । निमु शेर्पा र चोङ्वा लामा शेर्पाको लगानी रहने सिनेमालाई आरआर फिल्मस्ले वितरण गर्नेछ । यो सिनेमा यही वर्ष रिलिज हुने भनिए पनि प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।
कलाकारबारे निर्माणपक्षले कुनैपनि जानकारी दिएको छैन । केही समयपछि सिनेमामा कोको कलाकार रहने जानकारी दिँदै जाने निर्देशक शेर्पाले बताए । निर्देशक शेर्पाले ‘कार्साङ’मा भएका कमी कमजोरीबाट पाठ सिक्दै दर्शकले खोजे र चाहेजस्तै सिनेमा बनाउने प्रतिबद्धता जनाए ।


प्रतिक्रिया