ओटिटी प्लेटफर्म ‘सिनेमाघर’मा ‘बोक्सीको घर’ र ‘मनसरा’ रिलिज

ओटिटी प्लेटफर्म ‘सिनेमाघर’मा ‘बोक्सीको घर’ र ‘मनसरा’ रिलिज

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । नयाँ वर्ष २०८२ को पावन अवसर पारेर नेपालकै अग्रणी ओटिटी प्लेटफर्म ‘सिनेमाघर’ले दुई सिनेमा ‘बोक्सीको घर’ र ‘मनसरा’ एकसाथ रिलिज गरेको छ । नेपालमा हलमा हेर्न नपाएका र विदेशमा रहने नेपालीलाई लक्षित गरी रिलिज भएका यी दुवै सिनेमाले नेपाली समाजका गहिरा सामाजिक पक्षलाई उजागर गरेका छन् ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘बोक्सीको घर’ले नेपाली समाजमा विद्यमान ‘बोक्सी’ कुप्रथालाई केन्द्रमा राखेर कथा भनेको छ । सिनेमामा अभिनेत्री केकी अधिकारीले मुख्य भूमिका निर्वाह गरेकी छन् । जसमा उनले बोक्सीको आरोप खेप्नुपरेकी एक महिलाको पीडादायी अनुभवलाई जीवन्त रूपमा प्रस्तुत गरेकी छन् ।

यो सिनेमा २०८१ वैशाख १४ गते हलमा प्रदर्शनमा आएको थियो । ५१औं दिनसम्म प्रदर्शनमा रही व्यावसायिक रूपमा सफल भएको थियो । सिनेमाले बालविवाह भएकी बालिका, उनीमाथि लागेको बोक्सीको आरोप, पिपलको रुखलाई प्रयोग गरेर बोक्सीको आरोप लगाइएकी महिला पात्र र समाजले गर्ने शोषणको कथालाई मुख्य विषय बनाएको छ ।

यता, कवी उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेमा ‘मनसरा’ले ग्रामीण जीवनको संवेदनशील पक्षलाई उजागर गरेको छ । सिनेमामा दयाहाङ राई, मिरुना मगर, मेनुका प्रधान र प्रवीण खतिवडाले मुख्य भूमिका निर्वाह गरेका छन् । यो सिनेमा २०८१ साल वैशाख २१ गते हलमा रिलिज भएको थियो । सिनेमामा काठ क्षेत्रका गरिखाने वर्ग र उनीको सम्बन्धको आयामलाई देख्न सकिन्छ ।

‘सिनेमाघर’ नेपालकै अग्रणी ओटिटी प्लेटफर्म हो । जसले नेपाली सिनेमालाई डिजिटल माध्यमबाट दर्शकसम्म पुर्याउने कार्य गर्दै आएको छ । सिनेमाघरको एप एन्ड्रोइड र आइओएस मोबाइलहरू, स्मार्ट टिभीमा उपलब्ध छ । ल्यापटप तथा डेस्कटपमा वेब ब्राउजर प्रयोग गरेर समेत यसमा सिनेमा हेर्न सकिन्छ ।

विश्वभरबाट मास्टर कार्ड तथा भिसा कार्ड प्रयोग गरी एवम् नेपाल तथा भारतबाट सरल रूपमा विभिन्न डिजिटल वालेट तथा क्युआर कोड भुक्तानी गरेर सजिलै सिनेमा हेर्न सकिन्छ ।