द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘मैना’ निर्माणको घोषणा गरिएको छ । राजेन्द्र ढकाल (राहुल) प्रस्तुतकर्ता रहेको सिनेमा ‘मैना’को घोषणा थिम पोस्टरसहित गरिएको हो । सार्वजनिक थिम पोस्टरले सिनेमा क्राइम थ्रिलर जनरामा निर्माण हुने संकेत गरेको छ ।
सिनेमालाई चन्द्र कुमार भट्टराईले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशकीय सिनेमा हो । उनले यसअघि ‘समर लभ’, ‘मारूनी’, ‘राज्जा रानी’, ‘सेतो बाघ’ लागायत एक दर्जन सिनेमामा मुख्य सहायक निर्देशनको रुपमा काम गरिसकेका छन् ।
सुस्मिता फिल्मसको प्रस्तुति रहने सिनेमाको कथा गोविन्द मल्लले लेखेका हुन् । राजेन्द्र ढकाल (राहुल) र विनिता शर्माको लगानी रहने सिनेमाको सह-निर्मातामा रेनु शर्मा र सुस्मा खतिवडा छन् । थिम पोस्टरले शान्त समाजभित्र अचानक आउने उथलपुथलमा आधारित रहने संकेत गरेको छ । सिनेमाको छायांकन भदौबाट गरिने निर्माणपक्षले जानकारी दिएको छ ।
सिनेमामा को-को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले खुलाएको छैन । निर्देशक भट्टराईले केही समयपछि कलाकारबारे जानकारी दिने बताए । सिनेमाको नाम अनुसार सिनेमाको मुख्य भूमिकामा महिला कलाकार रहने अनुमान छ । यद्यपि, यसबारे निर्माणपक्षले मुख खोलेको छैन । सिनेमा कहिले रिलिज हुने जानकारी पनि निर्माणपक्षले केही समयपछि दिने निर्देशक भट्टराईले बताए ।


प्रतिक्रिया