‘के घर के डेरा’को सिक्वेल हो दीपेन्द्र के खनाल निर्देशित ‘घर नं २’ ?

‘के घर के डेरा’को सिक्वेल हो दीपेन्द्र के खनाल निर्देशित ‘घर नं २’ ?

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘के घर के डेराः घर नं २’ आगामी जेठ २ गते रिलिज हुँदैछ । केही दिन अगाडी टिजर रिलिज गरिएको सिनेमालाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । सिनेमाको विषयलाई लिएर दर्शकमा कौतुहलता देखिएको छ । ‘पशुपतिप्रसाद’को झल्को टिजरले दिएको भनेर सिनेमाको चर्चा भइरहेको छ ।

यो सिनेमा दुई वर्ष अगाडि रिलिज भएको ‘के घर के डेरा’को सिक्वेल हो अथवा नयाँ हो ? यसमा धेरैको जिज्ञासा छ । किन भने टिजरले सिनेमा सिक्वेलको संकेत गर्दैन । तर, नामले भने सिक्वेल भएको जनाउँछ । निर्देशक खनाल ‘के घर के डेराः घर नं २’ सिक्वेल नभएको बताउँछन् । ‘यो के घर के डेराको सिक्वेल होइन । घर र डेराको कुरा सिनेमामा छ । तर, यो के घर के डेराको सिक्वेल होइन,’ उनी भन्छन्, ‘यो विल्कुल नयाँ सिनेमा हो । नयाँ कथा हो । यो सिनेमाले नयाँ कथा लिएर आउँछ ।’

कमेडी बेसमा निर्माण भएको ‘के घर के डेराः घर नं २’ सोसल ड्रामा भएको निर्देशक खनाल प्रष्ट पार्छन् । आफ्नो पहिचान झल्कने सिनेमा ‘के घर के डेराः घर नं २’ भएको उनी बताउँछन् । ‘यसमा मेरो ओर्जिनल फ्लेबर आउँछ । म जसरी आफूलाई मन लागेको सोसल ड्रामा भन्दै आएको थिएँ । यो सिनेमा मार्फत म आफ्नो जनराको सिनेमामा फर्किएको छु,’ निर्देशक खनालले भने ।

सिनेमाको कथा साहित्यकार बुद्धिसागरले लेखेका हुन् । उनको यो पहिलो स्क्रिप्ट लेखन हो । सिनेमामा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकार लगायतको अभिनय छ ।

एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको सिनेमा कृष्णबहादुर थापाको छायांकन रहेको छ । यो सिनेमाको निर्मातामा नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन तथा कार्यकारी निर्मातामा युवराज कार्की छन् ।