सिनेमा दर्तामा १० वर्ष यताकै रेकर्ड, ०८२ मा रिलिजले पनि बनाउला त रेकर्ड ?

सिनेमा दर्तामा १० वर्ष यताकै रेकर्ड, ०८२ मा रिलिजले पनि बनाउला त रेकर्ड ?


द सिनेमा टाइम्स, काठमाडौं । विसं. २०८० मा चलचित्र विकास बोर्डमा १५० वटा सिनेमा दर्ता भएका थिए । १५० वटा सिनेमा दर्ता हुँदा बक्स अफिसमा ६२ वटा सिनेमा रिलिज भए ।

वि.सं. २०८१ मा १९४ वटा सिनेमा बोर्डमा दर्ता भएका छन् । यसमध्ये केही  रिलिज भइसकेका छन् । १९४ वटा सिनेमा निर्माणका लागि दर्ता हुँदा कति रिलिज होलान्, यो भने ०८२ को अन्तिमसम्म कुर्नुपर्ने हुन्छ । ०८२ मा दर्ता भएर यही वर्ष रिलिज हुने सिनेमा पनि हुन्छन् ।

गत वर्षभन्दा ४६ वटा सिनेमा ०८१ मा बढी दर्ता भएका छन् । दर्ताको संख्या हेर्दा ०८१ मा भन्दा यो वर्ष बडी सिनेमा रिलिज हुने सामान्य अनुमान भने लगाउन सकिन्छ ।

तर, इजाजत लिएजति सबै सिनेमा निर्माण हुँदैनन् । निर्माण भएका पनि सबै  प्रदर्शन भने हुँदैनन् ।

बढी सिनेमा रिलिज हुँदा बक्स अफिस स्वभाविक रूपमा बढी चलायमान हुनेछ । तर, बढी सिनेमा रिलिज हुँदैमा बक्सअफिसले कलेक्सन रकममा रेकर्ड कायम हुन्छ भन्ने हुँदैन । कति सिनेमाले धरै कलेक्सन गर्छन्, त्यसको आधारमा बक्स अफिसमा रेकर्ड हुने अथवा नहुने निश्चित हुन्छ ।

वि.सं. २०८१ मा १९४ सिनेमा दर्ता हुँदा १० वर्षयता कै रेकर्ड बनेको छ ।

०७० को साउनदेखि वैशाखसम्म ४१ सिनेमा निर्माणका लागि दर्ता भएका थिए । ०७०/०७१ मा १७७ सिनेमा निर्माणका लागि इजाजत लिएका थिए ।

०७१/०७२ मा १३६, ०७२/०७३ मा १३९, ०७३/०७४ मा १९३, ०७४/०७५ मा १९२, ०७५/०७६ मा १९२ सिनेमा निर्माणका लागि इजाजत लिएका थिए ।

०७६/०७७ मा १६७, ०७७/०७८ मा ८६, ०७८/०७९ मा ७९ सिनेमा निर्माणका लागि इजाजत लिएका थिए ।

०७९/०८० मा १२१ र ०८०/०८१ मा १५० सिनेमा निर्माणको इजाजत लिएको बोर्डले जनाएको छ ।