‘हेल्लो काँशीराम’ हेरेपछि पेट मिचेर हाँस्ने के हो थाहा हुन्छ : फुलन्देकी आमा

‘हेल्लो काँशीराम’ हेरेपछि पेट मिचेर हाँस्ने के हो थाहा हुन्छ : फुलन्देकी आमा

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । हाँस्य कलाकार फुलन्देकी आमा अर्थात उमेश राई अव ठुलो पर्दामा डेव्यु गर्दैछन् । सानो पर्दामा दर्शकको मन जितिसकेका उनी अब आफ्नो पहिलो सिनेमा ‘हेल्लो काँशीराम’ मार्फत आगामी जेठ २ गते देशभरका हलमा देखिँदैछन् । सिनेमाको प्रदर्शन मिति नजिकिएसँगै उनमा उत्साह देखिएको छ ।

सिनेमाको छायांकन अनुभव बाँड्दै उमेशले काम गर्दा निकै रमाइलो अनुभव रहेको बताए । सुटिङ कहिले सकियो पत्तो भएन । तर, डेब्यु सिनेमा भएकाले छायांकनका क्षणहरु मेरा लागि सधैभरी महत्वपुर्ण र यादगार हुने उनी बताउँछन् । यो सिनेमामा आफुलाई दर्शकले भिन्न अवतारमा भिन्न कथामा देख्न सक्ने उनले सुनाए ।

उमेशले अभिनेता दिलिप रायमाझीसँगको सहकार्यलाई अविस्मरणीय अनुभवको रुपमा सधै सम्झिने प्रतिक्रिया दिए । ‘दिलिप दाइ सोचेभन्दा झन् रमाइलो हुनुहुँदोरहेछ । त्यत्तिकै सफल कलाकार भइन्छ भन्ने कुरा उहाँलाई नियाल्दा प्रष्ट महसुस भयो’, उनले भने, ‘ठुलो पर्दामा पहिलो पाइला चाल्दा लागेको रोमाञ्च अनुभव, आफ्नो जिम्मेवारी, डर सानो पर्दाको भन्दा निकै माथिको हुनेरहेछ ।’

नाम नै ठुलो पर्दाको भनेपछि अलिकति डर पनि लाग्दोरहेछ, तर म एक्साइटेड छु, उनले थपे । साना पर्दाको तुलनामा धेरै मिहिनेत, गहिरो अभिनय र ठूलो जिम्मेवारीका साथ काम गर्नुपर्ने कुरा यो सिनेमाबाट सिकेको उनको अनुभव छ । राईले छिट्टै नयाँ सिनेमामा काम गर्न लागेको बताएका छन् । तर, कुन सिनेमा भन्ने कुरा खुलाएनन् । यद्यपी उक्त सिनेमामा विशेष रोलका लागि साइन गरिसकेको उनले बताए ।

प्रदर्शन हुन लागेको सिनेमा ‘हेल्लो काँशीराम’का निर्देशक रिम विश्वकर्माको खुलेर प्रशंसा गर्दै उमेशले देख्दा सामान्य लाग्ने तर क्षमतावान् निर्देशकको रुपमा व्याख्या गरे । सिनेमाको सेटमा बिताएको समय र सिकाइले आफूलाई अझ बलियो बनाएको बताउने उमेशले दर्शकलाई आश्वस्त पार्दै भने, ‘पेट मिचेर हाँस्ने के हो भन्ने कुरा हेल्लो काँशीराम हेरेपछि थाहा हुन्छ । म यो सिनेमामा पूर्ण कमेडी भूमिकामा छु, व्यंग्यात्मक शैलीमा प्रस्तुत हुँदैछु ।’

यो सिनेमाको केहि हप्ताअघि केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरी रिलिजका लागि तयारी अवस्थामा छ । सिनेमाको फर्स्टलुक पोस्टर सार्वजनिक भएसँगै दर्शकको उत्साह अझ बढेको थियो भने केहि दिनअघि सार्वजनिक टिजरले दर्शकमा जिज्ञासा वढाएको छ । केहि हप्तामा सिनेमाको गीत सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ ।

रेडलाइन फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा हाँस्य र व्यंग्यको अनौठो मिश्रण प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ । सिनेमाको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् । पीवी थापाले लगानी गरेको सिनेमालाई यम आलेले खिचेका हुन् । सिनेमाको लगानी डेढ करोड हाराहारी पुगेको निर्माण टिमले जनाएको छ । सिनेमालाई मित्र डी गुरुङले सम्पादन तथा रंग संयोजन गरेका हुन् ।

सिनेमामा दिलीप रायमाझी, सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेर राई (फुलन्देको आमा), भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारको अभिनय छ । अभिनेत्री प्रियंका कार्कीको विशेष भुमिका रहेको छ । सिनेमाको नृत्य निर्देशन कविराज गहतराज र द्वन्द्व निर्देशन शंकर महर्जन तथा संगीत संयोजन नरेन्द्र बियोगी र विपिन आचार्यले गरेका छन् ।