जेठ १५ गते गणतन्त्र दिवसमा रिलिज हुने ‘महाभोज’का दुई पोस्टर सार्वजनिक

जेठ १५ गते गणतन्त्र दिवसमा रिलिज हुने ‘महाभोज’का दुई पोस्टर सार्वजनिक

द सिनेमा टाइम्स
105
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउत निर्देशित सिनेमा ‘महाभोज’ आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ । आइतबार सिनेमाको निर्माण टिमले दुई नयाँ पोस्टर सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका पोस्टरमध्ये एक पोस्टरमा सिनेमाका मुख्य ६ कलाकार आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतलाई समावेश गरिएको छ । पोस्टरको पृष्ठभूमिमा पैसा देखाइएकाले यो पोस्टरले सिनेमामा राजनीतिक र सामाजिक प्रतिविम्ब रहेको संकेत गर्छ ।

दोस्रो पोस्टर भने ग्रामीण परिवेशमा आधारित छ । जसमा मुख्य ६ कलाकारसँगै वसुन्धरा भुसाल, बुद्धि तामाङ र कमलमणि नेपालजस्ता कलाकारलाई पनि देखाइएको छ । दुवै पोस्टरहरू रोयल भीमसेनले डिजाइन गरेका हुन् । निर्देशक राउतले पोस्टर सार्वजनिक गर्दै वैशाख ९ गते मंगलवार सिनेमाको टिजर सार्वजनिक गरिने जानकारी दिए ।

सामाजिक यथार्थमा आधारित ‘महाभोज’ जसमा नेपाली समाजको वर्ग संघर्षलाई प्रस्तुत गरिएको छ । सिनेमामा मोहन निरौला, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारको समेत अभिनय देख्न पाइनेछ । सिनेमाको कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता हिमाल कडरिया हुन् । निर्माण टिमका अनुसार सिनेमा जेठ १५ गतेबाट नेपालसँगै नेपालीहरू बसोबास रहेको प्रायः सबै मुलुकमा सिनेमा एकसाथ प्रदर्शनमा ल्याइनेछ । सामाजिक यथार्थमा आधारित, बलियो स्टार कास्ट, सशक्त निर्देशन र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने ‘महाभोज’ले दर्शकमाझ गहिरो प्रभाव छोड्ने अपेक्षा गरिएको छ ।