द सिनेमा टाइम्स, काठमाडौं । नेपाली सिनेमा क्षेत्रमा विशिष्ट योगदान पुर्याउने कलाकारलाई सम्मान गर्ने उद्देश्यले प्रदान गरिँदै आएको ‘हरितारा सिनेमा पुरस्कार’ यस वर्ष अभिनेता टिका पहारी र अभिनेत्री रेजीना उप्रेतीलाई प्रदान गरिने भएको छ ।
हरितारा सिनेमा पुरस्कारका संरक्षक मनोज शम्शेर जबराको अध्यक्षतामा वैशाख ४ गते बसेको बैठकले २०८० सालको पुरस्कार वरिष्ठ अभिनेता टिका पहारीलाई र २०८१ सालको पुरस्कार चर्चित अभिनेत्री रेजीना उप्रेतीलाई दिने निर्णय गरेको हो ।
विसं २०५२ मा समाजसेवी विजया राणा (तारानानी)ले पति हरि शम्शेरको सम्झनामा स्थापना गरेको यो पुरस्कार नेपाली सिनेमा क्षेत्रकै पहिलो औपचारिक पुरस्कारको रूपमा चिनिन्छ । ४ दशकदेखि नेपाली सिनेमाको उत्थान र नेपाली कला संस्कृतिको प्रवद्र्धनमा सक्रिय टिका पहारी र दुई दशकभन्दा बढी समयदेखि अभिनयमार्फत नेपाली सिनेमाको क्षेत्रमा योगदान दिँदै आएकी रेजीना उप्रेतीलाई जनही २५,००० रुपैयाँ राशिको थैली पुरस्कार अर्पण गरिनेछ ।
यो वर्षदेखि नगद रु १०,००० राशीको हरितारा सिनेमा पत्रकारिता पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । स्थापना वर्षको हरितारा सिनेमा पत्रकारिता पुरस्कार संचारकर्मी विष्णु सुवेदीलाई अर्पण गर्ने निर्णय गरेको छ ।
यसैबीच, परिवर्तन नेपालको वैशाख ५ गते सम्पन्न बैठकले कलाकार तथा अधिवक्ता कृष्ण ढुंगाना र निर्देशक÷सञ्चारकर्मी सम्झना उप्रेती रौनियारलाई ‘श्रीमती दुर्गादेवी पूण्य निरौला स्मृति पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । यसको पुरस्कार राशीको जनही १०,००० हजार रहेको छ ।
सिनेमा निर्माण, निर्देशन र अभिनयमा योगदान पु¥याउँदै आएका अभिनेता रविन्द्र सिंह बानिया, निर्देशक अमर ओली, अभिनेता जेबी रुवाली, अभिनेता सविन श्रेष्ठ, अभिनेता गोपाल ढकाल (छन्दे), अभिनेता सुनिल कटुवाल लाई ‘परिवर्तन सिनेमाकर्मी विशेष सम्मान २०८१’ अर्पण गरिनेछ ।
यता ‘परिवर्तन सिनेमा पत्रकारिता सम्मान २०८१’ संचारकर्मी तुलसी गिरी ‘भावुक’, कृष्ण भुषाल र कमला जोशीलाई प्रदान गरिनेछ । पुरस्कार तथा सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय सम्मिलित समितिले गरेको हो ।
विशेष समारोहमार्फत आगामी जेठको पहिलो हप्तामा पुरस्कार तथा सम्मान प्रदान गरिनेछ । यो कार्यक्रमको संयोजन निर्देशक देवेन्द्र पाण्डे र सञ्चालन परिवर्तन नेपालका मानार्थ समेत रहेका निर्देशक माधव राज खरेलले गर्ने निर्णय गरिएको छ ।


प्रतिक्रिया