भाइरल हुने विकृतिलाई व्यङ्ग्य गर्दै ‘भाइरल गोर्खे’

भाइरल हुने विकृतिलाई व्यङ्ग्य गर्दै ‘भाइरल गोर्खे’


द सिनेमा टाइम्स, काठमाडौं । भनिन्छ, सिनेमा समाजको ऐना हो । अर्थात् समाजमा जे छ, त्यो सिनेमामा आउनुपर्छ । यसको अर्थ सिनेमा समाजसँग नजिक हुनुपर्छ । समाज सिनेमामा प्रतिबिम्बित हुनुपर्छ ।

नेपाली सिनेमाले समाज बोल्छन् कि बोल्दैनन् तर ‘भाइरल गोर्खे’ यस्तै एउटा सिनेमा हो, जसले समाज बोल्नेछ । पछिल्लो समयको नेपाली समाज देखाउनेछ ।

डिजिडल युग सुरु भएसँगै सामाजिक सञ्जालको प्रयोग बढ्यो । सामाजिक सञ्जालको प्रयोग बढेसँगै अनेक हर्कत गरेर चर्चामा आउनेक्रम पनि बढेको छ ।

नाम होस्, बदनाम् होस् तर गुमनाम चाहिँ नहोस् भन्ने सिद्धान्त नेपाली समाजमा देखिन्छ । भर्खरका केटाकेटी हुन् वा वृद्धवृद्धा जो पनि भाइरल हुने ट्रेन्ड छ ।

यसैलाई कथा बनाएको सिनेमा हो, ‘भाइरल गोर्खे’ । टिकटक, फेसबुक र युट्युबमा जसरी हुन्छ भाइरल हुने पछिल्लो ट्रेन्डलाई यो ‘भाईरल गोर्खे’ले मुुख्य कथा बनाएको छ ।

रोगकै रूपमा विकास भइरहेको यो ट्रेन्डलाई समाएर बनेको सिनेमाले समसामयिक र जल्दोबल्लो विषय भएकाले यसले दर्शकको मन जित्नेमा निर्माण टिमले बताएको छ ।

समसामयिक विषय त्यो पनि हरेक घरको विषय भएकाले सिनेमा दर्शकले मन पराउनेमा आफू ढुक्क रहेको निर्देशक निगम श्रेष्ठले बताएका छन् ।

कमेडी र ह्युमर पनि रहेकाले दर्शकका लागि सिनेमा पूर्ण प्याकेज भएको उनले बताए ।

‘भाइरल गोर्खे’ जेठ ३० गतेबाट प्रदर्शनमा आउनेछ । सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् । सौगात र सृष्टिमार्फत निगमले पछिल्लो समय नेपालमा विकृतीको रुपमा मौलाउदै गरेको भाईरल प्रवृतीलाई व्यंग गर्नेछन् ।

द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको व्यानरमा निर्माण भएको सिनेमामा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमलाको अभिनय रहेको छ ।

विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर निर्माता रहेको सिनेमा सह-निर्माता भुवन अधिकारी र निखिल पौडेल हुन् ।

अमर महर्जनको सिनेमाटोग्राफी रहेको सिनेमालाई लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको हो ।