काठमाडौंमा ‘खेल’को प्रिमियर शो सम्पन्न

काठमाडौंमा ‘खेल’को प्रिमियर शो सम्पन्न

द सिनेमा टाइम्स
133
Shares

द सिनेमा टाइम्स, काठमाडौं । भोली शुक्रवार रिलिज हुने सिनेमा ‘खेल’को काठमाडौंमा प्रिमियर शो सम्पन्न गरिएको छ । बुधवार साँझ छाया सेन्टरस्थित क्युएफएक्स सिनेमा हलमा आयोजित प्रिमियरमा सिनेमाको टिम, पत्रकारहरू, शुभचिन्तक तथा सिनेमाकर्मीको उपस्थिति थियो ।

सिनेमाको प्रिमियरमा ‘खेल’का मुख्य कलाकार सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम लगायतको उपस्थिति रह्यो । प्रिमियरकै लागि भारतबाट सिनेमाका निर्देशक अनुराग प्रधान उपस्थित रहे भने अर्की निर्देशक आस्था श्रेष्ठसहित निर्माण टिम सहभागी थियो । निर्देशक प्रधानले आफूले बलिउडमा सिकेको ज्ञान नेपाली सिनेमामा लगाएको बताए ।

अभिनेत्री सुरक्षा पन्तले युवाले सच्चा मनले बनाएको यो सिनेमा सफल हुनेमा विश्वास व्यक्त गरिन् । उनी सिनेमाले प्राप्त गरेको प्रतिक्रियाले आफू र ‘खेल’ टिम पुलकित भएको बताइन् । मिथिकल सस्पेन्स थ्रीलर जनराको सिनेमाको कथा, पटकथा, संवाद, छायांकन, सम्पादन, कलर र सिनेमाको टोनको प्रशंसा भएको छ । प्रिमियरमा सुरक्षासहित अन्य नयाँ कलाकारको अभिनयको पनि प्रशंसा भएको थियो ।

नेपाली मिथक, रहस्य र आधुनिक मनोविज्ञानलाई सशक्त रूपमा प्रस्तुत गरेको प्रतिक्रिया सिनेमाले प्राप्त गर्यो । मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ लगायतको समेत अभिनय रहेको ‘खेल’लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका हुन् ।

सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो । जसका निर्माता लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह–निर्माता कुणालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । सिनेमाको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् ।

सिनेमाको छायांकन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका हुन् । यो सिनेमाको ध्वनि डिजाइन विकल प्रधान, रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, प्रोडक्सन म्यानेजर यमप्रसाद ओली, वितरण डिसिएन र पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले गरेको हो ।