द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘कोशेढुङ्गा’को फर्स्टलुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले बिहीबार फर्स्टलुक्सका रूपमा पोस्टर सार्वजनिक गरेको हो । आगामी भदौ १२ गते रिलिज हुने सिनेमाको पोस्टरमा अभिनेत्री सुरक्षा पन्त प्रस्तुत छिन् । उनलाई पछ्यौरी ओडेर पछाडी हेरिरहेको अवस्थामा देख्न सकिन्छ । यो लुक्सले उनी नवविवाहित दुलही जस्तो देखिएकी छन् ।
उनी पहाडको एक घरको आँगन छेउमा उभिएकी छन् । केही समय अगाडि छोडेर हिँडेको जस्तो घर देखिन्छ । आँगनमा देखिएको झारले यो अनुमान लगाउन सकिन्छ । तर, घर छोडेको धेरै भएजस्तो देखिँदैन । घर, पहाडमा बस्ने धनी व्यक्तिको जस्तो देखिन्छ । केही समय छोडिएको घर पुनः फर्किएर बस्नेगरी गएको हो कि भन्ने सामान्य अनुमान लगाउन सकिन्छ ।
बादलको घुम्टोमुनि पहाडको फेदीमा रहेको घरको आगनमा सहरबाट फर्किएकी एक नवविवाहित महिलाले गाउँ फर्किएर केही नयाँ काम गर्न खोजेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ । तर, सिनेमाको कथाबारे निर्माणपक्षले केही बताएको छैन । ‘पोस्टरले केही कुरा संकेत गरेको छ । यसलाई अहिले यतिमै सीमित गरौं,’ निर्देशक सरोज पौडेलले भने, ‘अलि बढी कथा हामी आउने अन्य सामग्रीबाट खोल्दै जानेछौं ।’
सिनेमामा सुरक्षा पन्त, आर्यन सिग्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाई, सिरु विष्ट, उद्वव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारको अभिनय छ । महिलाप्रधान सिनेमाको मुख्य भूमिकामा सुरक्षा पन्त छिन् ।
नरदेवी फिल्मस्को प्रस्तुति रहेको सिनेमामा प्रेविल कँडेल र किशोर अनुराग निर्माता तथा कार्यकारी निर्मातामा दिनेश खड्का छन् । बाबु श्रेष्ठको डीओपी रहेको सिनेमामा नहकुल खड्काको सम्पादन, आषिश अविरल र रिदम कँडेलको संगीत रहनेछ । सिनेमाका कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।
सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलले निर्देशन गरेको पहिलो सिनेमा भएकाले ‘कोशेढुंगा’ दर्शकको प्रतिक्षामा छ । उनले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ४७ करोड ग्रसकलेक्सन गरेको थियो । यो सिनेमा नेपालसँगै विदेशमा समेत एकसाथ प्रदर्शनमा आउने वितरक कम्पनि सेभेन सिज इन्टरनेशनल फिल्मस्ले जानकारी दिएको छ ।



प्रतिक्रिया