द सिनेमा टाइम्स, काठमाडौं । बैशाख १२ गते आज शुक्रबारबाट दुई नेपाली सिनेमा ‘भूठान’ र ‘खेल’ प्रदर्शनमा आएका छन् । यी दुवै सिनेमाले मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्म सुखद् शो प्राप्त गरेका छन् । फरक जनरामा निर्माण भएका यी दुवै सिनेमा रिलिजको पूर्वसन्ध्यामा प्राप्त सुखद् प्रतिक्रियाले दर्शकको राम्रो साथ पाउने विश्वास निर्माण टिमको छ ।
वरिष्ठ कलाकार हरिवंश आचार्यको मुख्य भूमिका रहेको सिनेमामा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी छन् । हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको पहिलो नेपाली सिनेमा हो । जसमा हलिउडका केही प्राविधिकहरुले पनि काम गरेका छन् ।
ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मस्ले निर्माण गरेको सिनेमालाई विनोद पौडेलले निर्देशन गरेका हुन् । सिनेमाका निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् ।
भुटानदेखि भारत र नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दा घर हराएको कथा ‘भूठान’ले उठान गरेको छ । सुसन प्रजापतिले खिचेका छन् ।
नेपाली मिथक, रहस्य र आधुनिक मनोविज्ञानलाई सशक्त रूपमा प्रस्तुत गरेको सिनेमामा सुरक्षा पन्त, हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, भोलाराज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ लगायतको समेत अभिनय रहेको ‘खेल’लाई अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेका हुन् ।
सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण गरिएको हो । जसका निर्माता लुइसराज महर्जन र आशिषराज महर्जन हुन् भने सह–निर्माता कुणालराज गुरुङ र रहिशराज महर्जन रहेका छन् । सिनेमाको कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् । सिनेमाको छायांकन रोशन राई र सञ्जय लामाले गरेका छन्न्भने सम्पादन आशिषराज महर्जनले गरेका हुन् ।


प्रतिक्रिया