द सिनेमा टाइम्स, काठमाडौं । आगामी वैशाख २६ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘ऊनको स्वीटर’को प्रचारलाई प्रभावकारी बनाउन संगीत निर्देशकसमेत रहेका चर्चित गायक सुजन चापागाई सिनेमाका मुख्ख कलाकारसहित देशभरका दर्शकसँग प्रत्यक्ष भेटघाट तथा सांगीतिक कार्यक्रममार्फत साक्षात्कार गर्नेछन् ।
‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाई’ शीर्षकमा पोखरा र धरानमा विशेष कार्यक्रम आयोजना गरिने भएको छ । सुजनसँगै सिनेमाका प्रमुख कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सम विक्रम राई र निर्देशक नवीन चौहानको उपस्थिति रहनेछ ।
पोखराको लेकसाइडस्थित हल्लन चोकमा आज अपराह्न्न ४ बजेबाट सुरु हुने कार्यक्रम ‘ऊनको स्वीटर साँझ’ प्रचार नेपाल, पोखराको व्यवस्थापनमा आयोजना हुँदैछ । उक्त कार्यक्रममा गुरुङ समूहले ‘मखमली’ गीतमा र सिनेमाका कलाकार एलेक्स पारस र परीक्षा लिम्बुले ‘काफ्ले’ गीतमा नृत्य प्रस्तुति दिनेछन् भने सुजन चापागाईले ‘फूल’ गीतमा एकल प्रस्तुति दिनेछन् ।
त्यस्तै, झलकमान गन्धर्वको जन्म जयन्तीको अवसर पारेर गन्धर्वको परिवारको उपस्थितिमा सुजनले झलकमानका गीतमार्फत श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि समावेश छ । यसैगरी, धरानको रंगशालामा वैशाख १८ गते साँझ ५ बजे आयोजना हुने कार्यक्रम ‘ऊनको स्वीटर साँझ विथ सुजन चापागाई’लाई सुजनको ‘द इन्फिनिटी ब्यान्ड’ले साथ दिनेछ । यो कार्यक्रममा ‘काफ्ले’ गीतकी गायिका झुमा लिम्बु र चर्चित गायिका सुनिता थेगिमको पनि विशेष प्रस्तुति रहनेछ ।
यो सिनेमाको हालै सार्वजनिक भएको गीत ‘काफ्ले’ सामाजिक सञ्जालमा चर्चामा छ । यसअघि सार्वजनिक भएका ‘फूल’ र ‘मखमली’ गीतले पनि राम्रो लोकप्रियता कमाएका छन् । सिनेमाको ट्रेलर सार्वजनिक भने काठमाडौंमा वैशाख १६ गते साँझ ४ बजे गरिने तयारी छ ।


प्रतिक्रिया