काठमाडौं, द सिनेमा टाइम्स । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सिनेमा क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘सिनेमा ऐन’ चाँडै ल्याइने बताएका छन् ।
शनिबार ललितपुरस्थित ग्वार्कोमा रहेको होटल तुलिपमा आयोजना गरिएको नेपाली सिनेमा वितरक तथा प्रदर्शकहरूको छाता संस्था नेपाल चलचित्र संघको ५०औँ वार्षिक साधारणसभामा मन्त्री गुरुङले २०२६ सालमै बनेको ‘सिनेमा ऐन’ परिमार्जन भएर आएपछि सिनेमाकर्मीले सामना गरिरहेको अवरोध हट्ने दाबी गरे ।
‘नयाँ सिनेमा ऐन टेबल गर्दैछु । म आफू सञ्चार मन्त्रालयमा आएपछि पुरानो नीति र कानुनले दिएको कठिनाइलाई राम्रोसँग बुझेर परिमार्जन गर्न लागिरहेको छु,’ उनले भने ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आफूले पदभार सम्हालेदेखि नै भनिरहेका तीन काम अन्तिम चरणमा भएको बताए ।
‘सिनेमा क्षेत्रको पहिलो समस्या भनेकै नयाँ सिनेमा ऐन थियो, जुन हामीले छिट्टै पाउने सुनिश्चित भइसकेको छ ।
‘सिनेमा छायांकनका लागि नेपालकै ठूलो स्टुडियो बनाउने कुरा पनि बोलपत्र प्रक्रियाबाट अगाडि बढेर अब छिट्टै शिलान्यास हुँदै छ,’ उनले भने, ‘यसका साथै सिनेमा भवनमा काटिएको टिकटको विवरण पनि छिट्टै आउनेगरी ‘बक्स अफिस’मा ‘रियल टायम डाटा’ उपलब्ध हुनेछ ।’
अध्यक्ष डिसीले सिनेमा क्षेत्रमा देखिएका समस्यालाई आफूले सिनेमाकर्मीका रूपमा बुझेकाले त्यसलाई क्रमबद्ध रूपमा समाधान गर्ने बताए ।
नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जनले संघले नेपालमा सिनेमा हेर्ने संस्कृतिको विकास गर्न निर्वाह गरेको भूमिकाबारे बताए ।
‘हामीले प्रिन्ट बोकेर पनि सिनेमा देखेका छौँ, अहिले डिजिटल प्रविधि आइसकेको छ । यसकारण हामी पनि समयअनुसार परिमार्जित भएर अगाडि बढिरहेका छौँ । नेपालबाहेक अन्य देश पुगेर त्यहाँ चलचित्र हेर्नु भएका दर्शकलाई उस्तै सुविधा दिने प्रयत्न हाम्रो हुन्छ,’ उनले भने, ‘हामीलाई भइरहेको कठिनाइलाई हामीले प्रक्रियागत रूपमा चलचित्र विकास बोर्डमार्फत मन्त्रालयमा जानकारी गराउने छौँ ।’


प्रतिक्रिया